काठमाडौं । दुर्घटनाबाट होस वा नियोजित रुपमा नै होस, आगो तथा एसिडबाट कोही व्यक्ति जलेको अवस्थामा उपचार खर्च निकै महंगो हुने गर्दछ । जटिल खालका जलनका उपचार गर्नुपरेको अवस्थामा गरिब तथा निम्न वर्गीय व्यक्तिका लागि उपचार खर्च जुटाउन निकै मुस्किल हुने गर्दछ ।
यहि विषयलाई मनन् गदै सरकारले जुनसुकै जलनका बिरामीको सातै प्रदेशमा निःशुल्क उपचार गर्ने तयारी त गरेको छ । तर, अस्पतालमा जनशक्ति तथा पूर्वाधारको कमीले सेवा प्रभावकारी सञ्चालनमा भने समस्या देखिन्छ ।
नेपालमा प्रत्येक वर्ष झन्डै ६५ देखि ७५ हजारको हाराहारीमा आगो तथा एसिडबाट जलनका घटना हुने गरेका छन् । आगो, तातो तेल, विद्युतीय करेन्ट, एसिड प्रहार, तातोपानी, तातो दुध वा अन्य तातो तरल पदार्थका कारण जलन हुने गर्दछ ।
दुर्घटनाबाट होस वा कसैको निशानामा परेर होस, जलन भएमा तत्काल उपचार गराउन सक्ने पहुँच भने सबैमा छैन । जलनको उपचारका लागि उपचार खर्च महंंगो हुने भएका कारण आर्थिक अवस्था कमजोर भएकाहरुका लागि जलनको उपचार सहज नदेखिएको हो । तर, यस समस्यालाई समाधानका लागि सरकारी तवरबाट केही प्रयासको शुरुवात भएको देखिन्छ ।
जलनको उपचारमा सहयोग स्वरुप सरकारले तत्काल एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा केही समय अघि मात्रै स्वास्थ्यमन्त्रीले गरिसकेका छन् । यति मात्रै पर्याप्त नभएकाले सरकारले आर्थिक अवस्था कमजोर भएका जलनका विरामीका लागि सातै प्रदशमा निःशुल्क उपचारको तयारी गरिरहेको छ ।
विशेष गरि जाडो महिनामा जलनका घटना बढि हुने गर्दछ भने भौगोलिक क्षेत्रगत हेर्दा तराई क्षेत्रमा जलनका घटना बढी हुने गरेका छन् । गम्भीर जलनका बिरामीले उपचारका लागि कम्तीमा ३ देखि ५ लाख रुपौयाँ सम्म खर्च गर्नुपर्ने अवस्था अहिले छ । यो आर्थिक भार कमजोर आर्थिक अवस्थाले थेग्न गाह्रो पर्छ ।
त्यसमा पनि पैसा भएकै व्यक्तिले पनि अस्पतालमा जनशक्ति अभावका कारण सहजै सेवा पाउन सक्ने अवस्था छैन । नेपालमा जलनमा उपचार गर्ने बर्न प्लास्टिक सर्जनको हेर्न हो भने यो संख्या पर्याप्त देखिदैन । नेपालमा अहिले जम्मा ३० देखि ३५ जनाको हाराहारीमा मात्र बर्न प्लास्टिक सर्जन रहेका छन् । साथै यी पनि अधिकाश काठमाडौं केन्द्रित मात्र देखिन्छन् ।
निशुल्क उपचार सेवामा सरकार जुटे पनि उपचारका लागि जनशतिm तथा पूर्वाधारको भने कमी देखिन्छ । नेपाल सरकारलको बर्न प्लास्टिक सर्जनको दरबन्दी हेर्ने हो भने पनि जम्मा ५ जना मात्रै छ ।
जलनबाट घाइते बिरामीको उपचार गर्ने अस्पताललाई हेर्न हो भने गभीर खालका बिरामीको पूर्ण उपचार कीर्तिपुर बर्न अस्पताल र सुष्मा कोइराला मेमोरियलमा हुने गरको छ । यस बाहेक महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल र पाटन र वीर अस्पतालमा सामान्य जलनको मात्र उपचार हुन्छ ।
चिकित्सकका अनुसार धेरैजसो आगोले पोलेको, तातो पानीले पोलेको र पछिल्लो समय करेन्ट लागेर जलेका बिरामी धेरै आउने गर्छन्। अस्पतालमा आएका बिरामीमध्ये १० देखि १५ प्रतिशत मात्र उपचार खर्च जुटाउन सक्ने बिरामी आउँने गरेका छन् ।
बाँकी आर्थिक अवस्था कम्जोर भएका बिरामी पुग्ने भएका कारण यस्ता बिरामीका लागि सरकारले ल्याएको निशुल्क उपचार सेवा लाभदायी हुने अपेक्षा गरिएको छ । तर जनशक्ति तथा पूर्वाधार अभावका कारण सरकारले ल्याएको जनल बिरामीको निःशुल्क उपचार सेवा प्रभावकारीमा भने प्रश्न चिन्ह उब्जाएको छ ।