काठमाडौं । तिहार शुरु भएसँगै देउसी भैलोको स्मरण हुन्छ । देउसीमा मादलको धुनमा नाचगान र रमाइलो गरेको पल धैरैलाई याद आउँछ ।
यस वर्षको तिहार शुरु हुन केही दिन मात्रै बाँकी छ । त्यसैले पनि अहिले काठमाडौंमा मादल किन्नेहरुको भीड छ । अन्य समयमा खोजि नहुने मादल तिहारको समयमा भने किन्ने र बेच्नेहरुको घुइँचो लाग्छ । तिहारका लागि विभिन्न जिल्लाबाट मादल खरिद गर्नका लागि काठमाडौं आइपुग्छन् ।
आफूलाई मन पर्ने मादल छानेर किन्ने र घर लगि तिहारमा रमाउने हेतुले टाढाबाट काठमाडौं मादल किन्न ग्राहकहरु आउने गरेका छन् । ओखलढुंगाको केत्तुकेबाट मादल किन्न आएका सुमन तामाङ गाउँ घरमा देउसी, भैलो खेल्नेलाई मादल अनिवार्य हुने र मादल बिना रमाइलो नहुने बताउँछन् ।
काठमाडौंमा विष्णु म्युजिक सप सञ्चालन गर्दै आएका व्यवसायी रिपबहादुर कुलले गत वर्षको तुलनामा यस वर्ष मादलको व्यापार राम्रो रहेको बताए । २५ वर्ष यता काठमाडौंको वसन्तपुर क्षेत्रमा मादल व्यापार गर्दै आएका उनले १३ सयदेखि १२ हजारसम्मका मादल आफूले पसलमा राख्ने गरेको बताए । यस वर्ष १५ सयको हाराहारीमा मादल बेच्ने आफ्नो लक्ष्य रहेको उनले सुनाए ।
नेपाली लोकबाजालाई सरकारले संरक्षण गर्न जरुरी रहेको उनको भनाइ छ । एउटा मादल तयार गर्न करिव १० दिन लाग्ने मादल व्यवसायीहरु बताउँछन् । काठ खोपेर ढुङ्ग्रो बनाउनुपर्ने भएकोले अत्याधिक मेहनत र समय लाग्छ ।