काठमाडौं । विवादाष्पद बनेको सेमिफाइनलमा नेपालले आईतवार भारतमाथि पेनाल्टी सुटआउटमा ४–२ ले जित निकाल्दै उपाधि भिडन्त तय गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भारतमाथि रोमान्चक जित निकालेको हो ।
अब नेपालले बुधवार उपाधिका लागि बंगलादेशसँग खेल्नेछ । आईतवार नै साविकको विजेता बंगलादेशले पहिलो सेमिफाइनलमा भूटानमाथि ७–१ को जित निकाल्दै लगातार दोस्रो पल्ट उपाधि भिडन्त तय गरेको हो ।
गत संस्करणमा पनि बंगलादेशले फाइनलमा नेपाललाई नै हराउँंदै पहिलोपल्ट उपाधि जितेको थियो । निर्धारित समयमा १–१ को बराबरी भएपछि खेलको निर्णयका लागि सिधै पेनाल्टी सुटआउटतर्फ धकेलियो ।
भारत र नेपालबीचको सेमिफाइनलमा मुख्य रेफ्री भूटानकी ओम छोकीले खेलको टेम्पर नियन्त्रणमा लिन नसक्दा साफ महिला च्याम्पियनसिपकै बिसर्नलायक खेल बनेको छ ।
पहिलो हाफमा गोलरहित बराबरीमै सकिँदा खेल पूर्ण रूपमा रेफ्री छोकीकै नियन्त्रणमा थियो । तर दोस्रो हाफमा भने पूर्ण रूपमा उनको नियन्त्रणभन्दा बाहिर गयो । रेखा पौडेलले दोहोरो पहेंलो कार्ड सामना गरेपछि खेल नियन्त्रणभन्दा बाहिर गएको हो ।
शुरूमा रेखाको पहेंलो कार्डप्रति दर्शकले असन्तुष्टी पोखेको थिए र पहिलोपल्ट खेल प्रभावित भयो । यसको फाइदा लिँंदै भारतले गोल गर्यो र अग्रता लियो ।
लगत्तै नेपालले बल शुरू गर्दै गोल पनि गर्यो । तर छोकीले गोल मान्यता दिइनन् । छोकीले नै बल चलाउन निर्देशन दिएको भन्दै यसपल्ट नेपाली खेलाडी नै प्रतिवादमा उत्रिएपछि झन्डै एक घण्टा खेल रोकियो ।
तर दोस्रो हाफको १८औं मिनेटदेखि खेल पुनः शुरू गरियो । लगत्तै नेपालले एक मिनेटपछि नै सावित्रा भण्डारीले गोल फर्काइन् । प्रीति राईले करिव मध्य भागबाट दिएको थ्रु बललाई नियन्त्रणमा लिँदै सावित्राले गोल गरेकी हुन् । भारतकी गोलकिपर देवि वाङखेन अगाडि बढेको अवस्थामा दुई डिफेन्डरबीचबाट खाली पोस्टमा गोल गरेकी हुन् ।
यो गोलपछि नेपाली खेलाडीले आक्रामक शैली अपनाए । इन्जुरी समयको पहिलो मिनेटमा सावित्राको प्रहार भारतकी गोलकिपर देवि उत्कृष्ट बचाउ गरिन् । त्यसपछि थप गोल भएन र खेलको निर्णयका लागि पेनाल्टी सुटआउटतर्फ धकेलियो ।
भारतकी कप्तान असलता देविको पहिलो पेनाल्टी नेपालकी गोलकिपर अञ्जना रानामगरको हात छुंदै बारमा लागेर फर्कियो ।
तर नेपालको पहिलो प्रहारमा सावित्राले गोल गरिन् ।
भारतकी मनीषाले गोल गरिन् । नेपालको दोस्रो प्रहारमा गीता रानाले गोल गरिन् । भारतकी पुरूषोत्तमले गोल गरिन् । नेपालकी सविता रानामगरले गोल गरिन् ।
नेपालकी गोलकिपर अन्जना रानामगरले भारतकी डिफेन्डर चन्नु सुरेखैबमको पेनाल्टीमा पनि रोकिन । यससककंगै समान चार पेनाल्टी प्रहार हुंदा नेपाल ३–२ ले अगाडि थियो । नेपालको चौथो पेनाल्टी सफलताले नै विजय तय थियो ।
अमिशा कार्कीले यसमा सफलता प्राप्त गरेसँंगै नेपाल पेनाल्टी सुटआउटमा ४–२ ले विजय भयो । अब उपाधिका लागि नेपालले बंगलादेशसँग बुधवार खेल्नेछ ।
त्यसअघि २० औं मिनेटमा भारतकी ज्योति चौहानले गोल गर्ने सुन्दर अवसर गुमाउँदा नेपाललाई राहत मिल्यो । कर्नरबाट आएको बललाई उनी ८ यार्डबाट गरेको प्रहार अकासियो । त्यसअघि दुवै तर्फबाट लामो प्रहार भएका थिए ।
नेपालले ३१ औं मिनेटमा पहिलो सुन्दर अवसर बनाए पनि भारतीय गोलकिपर देवि वाङखेनले उत्कृष्ट बचाउ गरिन् । अमिशा कार्कीले पेनाल्टी बक्सबाट गरेको प्रहार देविले पन्च गर्दै बाहिर पठाइदिइन् । ४३औं मिनेटमा सावित्रा भण्डारी पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार पनि प्रभावकारी भएन ।
पहिलो हाफको थप समयमा भारतले फ्रिकिकमार्फत उत्कृष्ट अवसर सिर्जना गरे पनि नेपालको डिफेन्डरले लगातार तीनपल्ट सम्म बचाए । यससँगै पहिलो हाफमा खेल गोलरहित बराबरीमै सकियो ।
दोस्रो हाफमा शुरूवाती गोलका लागि दुवै टोलीले प्रयास भएका थिए । तर ५०औं मिनेटमा रेखा पौडेलले रातो कार्ड बेहोरेएपछि घरेलु दर्शक आक्रमण बन्दै खेलका रेफ्रीमाथि बोतल प्रहार गर्न थाले । भारतकी डिफेन्डर चन्नु सोरोखैबमलाई फउल गरेको भन्दै रेखालाई दोहोरो पहेंलो कार्ड दिइन् ।
त्यसपछि करिव १० मिनेट नै खेल प्रभावित बन्न पुग्यो । नेपाली खेलाडीको आग्रहपछि दर्शक शान्त बने र ६१औं मिनेटमा खेल शुरू भयो ।
त्यसपछि एक खेलाडीबिना खेलेको नेपाल त्यसपछि दबाब पर्यो । ७१औं मिनेटमा भारतकी संगीता बासफोरको उत्कृष्ट गोलसककंगै नेपाली समर्थक स्तब्ध भए । चान्नुले लेफ्ट साइबाट दिएको ब्याक पास नियन्त्रणमा लिककंदै संगीताले करिब ३० यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहार नेपालकी गोलकिपर एन्जिला तुम्बाप्पोले पहुंचमै रहेन ।
लगत्तै नेपालले बल चलायो र त्यतिबेला सम्म भारतीय खेलाडी मैदान बाहिर थिए । सोही मुभमा प्रीति राईले गोल गरिन् । खेलकी मुख्य रेफ्री ओम छोकी उक्त गोल अमान्य घोषणा गरिन् । यससँगै फेरि विवाद सिर्जना भयो ।
रेफ्री छोकीले बल शुरू गर्न ढिलाई गरेको भन्दै भारतकी सहायक प्रशिक्षक प्रिया पराथीलाई पहेंलो कार्ड दिए पनि नेपाली टोली गोल अमान्यप्रति असन्तुष्ट भए । फेरि खेल रोकियो ।
म्याच कमिसनर दोर्जी मिन्दु र रेफ्री एसेसर रेबेलो मारियाले खेल सुरू गर्न पटकपट प्रयास गरे पनि सफल भएनन् । करिव मुस्किलले १५ मिनेट मात्र खेल सञ्चालन भयो । विवादका कारण फेरि रोकियो । नेपालले पुनरागमन जितसँंगै पेनाल्टी सुटआउटमा पनि जित निकाल्यो ।