News 24 Television
प्रचण्डलाई ओलीको जवाफ : हतियार बिसाउन लगाउने तरीका हामीलाई थाहा छ

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई नधम्क्याउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । आईतवार काठमाडौंमा गैरआवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नागरिकलाई धम्क्याएर पुनः सत्ता प्राप्ति गर्छु भन्ने नठान्न चेतावनी दिएका हुन् ।

प्रचण्डलक्षित टिप्पणी गर्दै ओलीले आफूलाई हतियार बिसाउन लगाउने तरीका थाहा भएको बताएका छन् । शनिवार काठमाडौंमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा प्रचण्डले आफूहरुले हतियार चलाउन बिसाएको मात्रै हाे, चलाउन बिर्सेका छैनाैँ भन्ने शब्दहरु प्रयोग गर्दै भाषण गरेका थिए । साेही कुराप्रति कटाक्ष गर्दै ओलीले हतियार कसरी बिसाउन लगाउने भन्ने कुराको राम्रो ज्ञान आफूलाई रहेको बताए । उनले धम्क्याएर खान पाउने भ्रम अब नपाल्न आग्रह समेत गरे । 

उनले भने, ‘हिजो एक जन उफ्रिउफ्रिकन भाषण गर्दै थिए । हिजो मात्रै हो । हतियार बिसाएको मात्रै हो । भ्रम नरहोस् । चलाउन बिर्सिएको छैन । त्यस्तै त्यस्तै त हामी हुनु भएन नि । धम्क्याएका भरमा खाने, म त्यसलाई फेरि हतियार कसरी बिसाउन लगाउनुपर्छ तरिका थाहा छ पनि नभनौँ । हामी चलाउन त चलाउँदैनौँ तर बिसाउन लगाउन जानेको छ हामीले । कसरी बिसाउने भनेर ।’

प्रधानमन्त्री ओलीले एनआरएनएमा कुनै राजनीतिक दल र सरकारको हस्तक्षेप नहुने पनि बताए । उनले ढुक्क भएर आफ्ना कार्यक्रमहरु स्वतन्त्र रुपमा गर्न आग्रहसमेत गरे । आफू एमालेको प्रधानमन्त्री नभएर देशको प्रधानमन्त्री भएकाले प्रधानमन्त्रीको रुपमा कसैप्रति भेदभाव नगरिने  उनकाे भनाइ छ । उनले सबै एनआरएनएहरु एकताबद्ध भएर देश विकासमा लाग्न आग्रह समेत गरे । 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update