काठमाडौं । सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने हिरासतमै छन् । सहकारीको रकम अपचलन गरेको सम्बन्धमा अनुसन्धान गर्न कास्की पुर्याइएका रविलाई अदालतले थप ७ दिन थुनामा राख्न अनुमति दिएको अवस्था छ । तर रवि पक्राउविरुद्ध रास्वपा नेता कार्यकर्ताहरुले कास्की र काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन् ।
जिल्ला अदालत कास्कीमा रवि पक्षधर वकिलहरुले रविलाई हिरासतमा नराखी अनुसन्धान गरिनुपर्ने र संसदीय छानविन विशेष समितिले पनि रविको संलग्नता नरहेको निश्कर्ष दिएको तर्क गरेका थिए । यद्यपि जिल्ला अदालत कास्कीले रविमाथि थप अनुसन्धान गरिनुपर्ने आवश्यकता औल्याएको हो ।
यसले रवि र रास्वपा अझ आशंकित बनेका छन् । रविविरुद्ध सहकारी ठगी प्रकरणका अलावा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान हुने भएको छ । जुन अनुसन्धानले रवि दोषी करार हुने त हैनन् ? भन्ने त्रास रास्वपा पङ्तिलाई छ ।
हिरासतमै रहेका रविलाई विहिबबार मात्रै जिल्ला अदालत रुपन्देहीले पनि पक्राउ अनुमति दिएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा परेको उजुरीमाथि जिल्ला अदालत रुपन्देहीले रविलाई पक्राउ गर्न अनुमति दिएको हो ।
यसले रविलाई झनै संकट पैदा गराएको छ । यही परिघटनाहरुलाई नै केन्द्रीत गरेर रास्वपाले भने सडक आन्दोलन नै गरेर सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाइरहेको छ ।
तर पोखराकै सूर्यदर्शन सहकारीका पीडितहरुले भने रास्वपाले सडक आन्दोलन गरेर आफूहरुको सङ्घर्षलाई दबाउन खोजेको भन्दै काउन्टर टिप्पणी गरिरहेका छन्् । आफूहरुकै नारा लिएर रास्वपा पनि सडक आन्दोलनमा उत्रँदा पीडितहरुको भावनामा ठेस पर्ने उनीहरुको तर्क छ ।
रास्वपाले रवि पक्राउपछि पोखरा केन्द्रीत आन्दोलन गरेपनि त्यसको प्रभाव खासै देखिएन भने उक्त आन्दोलनले उचित समर्थन पनि पाएन । त्यसपछि रास्वपा शुक्रबारबाटै काठमाडौं केन्द्रीत आन्दोलनमा छ ।
रास्वपाले विविध आन्दोलन र संसदबाटै पनि रवि लामिछाने निर्दोष रहेको दावी गर्दै आएको छ ।
त्यस्तै संसदीय छानविन विशेष समितिले पनि रविलाई ‘क्लिनचिट’ दिइसकेको अवस्थामा पुनः अनुसन्धान गरिनु सरकारको नियतमै प्रश्न गर्न सकिने दावी गरिरहेको छ । तर रवि पक्राउ प्रकरण र उनको संलग्नताहरुबारे रास्वपाले जे–जस्तो दावी गरेपनि यो अदालती प्रक्रियामा गइसकेकाले न्यायलयको फैसला नै अन्तिम निश्कर्ष हुनेछ ।
माओवादी र रास्वपाको एकै बोली
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी र रास्वपाले सरकारको हरेक कमजोरीमाथि खबरदारी गर्दै आएका छन् । तर रवि पक्राउ प्रकरणमा माओवादीले पनि रास्वपाकै सार बोलेको देखिन्छ ।
केही दिन अघि कास्की जिल्ला अदालतमा रास्वपा सभाति रविले वर्तमान सरकारले प्रतिशोध साँधेको र आफूलाई बदलाभाव राखेरै पक्राउ गरिएको आरोप लगाएका थिए । यस्तोमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले पनि सरकारले प्रतिपक्षी दलका नेताहरुलाई नै मुख्य तार्गेट गरेर धामाधम पक्राउ गरिरहेको जिकिर गरेको हो ।
साथै रास्वपाले पनि कास्कीमा गरिरहेको सरकारविरुद्धको कार्यक्रम शुक्रबारबाटै राजधानी काठमाडौं केन्द्रीत बनाएको छ । जबकी शनिबारबाटै माओवादी केन्द्रले पनि काठमाडौंमै सरकारविरुद्धको खबरदारीसभा आयोजना गरेको छ ।
यसले पनि सरकारविरुद्ध माओवादी र रास्वपा एकस्वर भएर लागी परेको प्रष्ट देखिन्छ । वर्तमान गठबन्धनलाई भ्रष्ट र विचौलिया निर्मित आरोप लगाउने माओवादी–रास्वपाले रविलाई जोगाउने उदेश्यलाई पनि साझा बनाएका छन् । तर यसमा माओवादी र रास्वपा कति सफल हुन्छन्, यो भविष्यले नै देखाउने छ ।