News 24 Television
शक्ति देखाउँदै माओवादी, सडकबाटै सरकार ढाल्ने विपक्षी रणनीतिमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी रकम अपचलन सम्बन्धमा पक्राउ परेपछि रास्वपा सरकारविरुद्ध सडक आन्दोलनमै छ । 

लामिछानेको रिहाइको माग गर्दै रास्वपाले प्रदर्शन गरिरहँदा प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र पनि सरकारविरुद्ध खरो उत्रिएको छ । सरकारले विपक्षी नेताहरुलाई प्रतिशोध साँध्ने काम गरेको भन्दै माओवादी केन्द्रले काठमाडौंमा खबरदारी सभा नै ग¥यो । 

नेकपा माओवादी केन्द्र सत्ताच्यूत भएपछि प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकै रुष्ट छन् । सरकारविरुद्ध आन्दोलन चर्काउने अवसरको खोजीमा रहेका माओवादी अध्यक्ष प्रचण्ड यतिबेला रास्वपा सभापति रवि लामिछानेको पक्राउलाई प्रतिशोधपूर्ण भन्दै पार्टीलाई सडकमा उतारेका छन् । 

पछिल्लो समय पार्टी कमजोर बनेको स्वीकार गरेका प्रचण्डले रास्वपाको आन्दोलनकै बीच सरकारविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । शनिवार सरकारविरुद्ध खबरदारी सभा आयोजनासँगै माओवादी केन्द्रले उपत्यका वरिपरीका कार्यकर्ता बटुलेर जुलुस निकालेको छ । जसलाई उसले शक्ति प्रदर्शनकै रुपमा हेरेको छ ।   

माओवादी नेताहरु मात्र होइन, खबरदारी सभामा भाग लिन आएका तल्लो कमिटीका कार्यकर्ताहरु पनि सरकारप्रति बेचैन देखिन्थे । सरकार बनेको एक सय दिन पुगि सक्दा पनि कुनै पनि उपलब्धि हुन नसकेको, माओवादी नेतृत्वको सरकारले गरेका राम्रा काम को पनि निरन्तरता दिन नसकेको उनीहरुको भनाई थियो । 

यता राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकार प्रतिशोधमा उत्रिएर पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको भन्दै प्रर्दशन जारी नै राखेको छ । अर्काे प्रतिपक्ष दल राप्रपाले पनि सरकारको कार्यशैली माथि प्रश्न उठाउदै आएको छ ।

पछिल्लो अवस्थामा विपक्षी दलहरु आन्दोलनबाटै सरकार ढाल्ने रणनीतिमा देखिन्छन् । तर अहिलेसम्म विपक्षी दलहरुबीच आन्दोलनका लागि कार्यगत एकताको घोषणा भने भइसकेको छैन । 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update