काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई खबरदारी गर्नका लागि आयोजना गरेको सभामा नेताहरुले सरकारबारे अनेक लान्छना लगाएका छन् ।
सरकारले सुशासनको जग भत्काउन खोजेको आरोप माओवादीको छ । तर, अहिले सरकार ढाल्न खबरदारीसभाको आयोजना नगरिएको समेत माओवादीले प्रष्ट पारेको छ । शनिबार दिनभर माओवादीको सभामा कसले के भने त ?
सरकार प्रतिपक्षीको आन्दोलन हुने भनेपछि त्रसित बनेको छ । सत्ता गठबन्धनले ७ बुँदे वक्तव्य नै जारी गरेर माओवादी केन्द्र लगायत विपक्षी दलहरुले गर्ने भनेको सडक आन्दोलनलाई अलोकतान्त्रिक मात्रै भनेन्, सरकारको विकल्प सडकबाट नखोज्न चेतावनी समेत दियो ।
सत्ता गठबन्धनले यस्तो जिकिर गर्दै गर्दा प्रतिपक्षले सडकमा गर्न खोजेको आन्दोलनलाई नै निशाना बनायो । तर, दुई तिहाई बढि मतसहित सत्ता नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीले किन यस्तो भन्ने स्थिति सिर्जना गरे ? त्यो भने अर्थपूर्ण विषय छ ।
सत्ता पक्षले प्रतिपक्षीलाई दिएको चेतावनी सरकारको स्थिरतासँग जोडिएको देखिन्छ । यता, प्रतिपक्षीले सरकार लोकतन्त्र मास्न तलिन रहेको र भ्रष्टाचार र सुशासनका मुद्दालाई निस्तेज पार्न कस्सिएको आरोप लगाउदै गर्दा प्रधानमन्त्री केपी ओलीले कांग्रेस एमालेले लोकतन्त्र नमास्ने प्रष्टीकरण नै दिएका छन् ।
सत्ता पक्ष रक्षात्मक बन्दै गर्दा प्रतिपक्षी दल माओवादी केन्द्रले खबरदारीसभामार्फत अनेक प्रश्न उठाएको छ । खबरदारी सभा सत्ता फेर्ने अस्त्र नभएको र सुशासन र भ्रष्टाचारविरोधी कदमलाई सरकारले सहि ढंगले अघि बढाओस भन्नका लागि भएको नेताहरुले जिकिर गरेका छन् ।
नेताहरुले सरकारमाथि दबाब सिर्जना गर्दै सहि बाटो समात्न दबाब दिएका छन् । तर, अध्यक्ष प्रचण्डले भने विभिन्न विषयमा केपी ओलीमाथि प्रहार गरेका छन् । जग्गा दान लिने एमालेको निर्णयदेखि थुप्रै विषयमा आक्रामक पेश भएका प्रचण्डले सरकार ढाल्न सभाको आयोजना नगरेको जिकिर गरे ।
सरकार आफै कुहिएर ढल्ने भन्दै प्रचण्डले सरकारमा रहँदा जनतासँगको सम्बन्ध कट्न थालेको र कांग्रेस एमालेले मौका दिएको दाबी गरे । जनतामा जाने प्रण गरेका प्रचण्डले अब एक्लै चुनाव लड्ने र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता दोहो¥याए ।
यस्तै, प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको भन्ने विषयमा समेत खण्डन गरेका छन् । खबरदारी सभाबाटै प्रचण्डले षडयन्त्रपूर्वक ज्ञानेन्द्र शाहलाई भेटेको भनेर स्याल हुँइया मच्चाएको आरोप समेत लगाए ।
माओवादीले सरकार ढाल्न सडकको प्रयोग गरेको ठानेको सरकार र सडक र सदनबाट सरकारमाथि दबाब सिर्जना गर्ने रणनीति अख्तियार गरेको माओवादी केन्द्रबीच राजनीतिक लडाई कहिलेसम्म लम्बिएला ? कांग्रेसभित्रैको आन्तरिक विवाद र सरकारको आलोचनाले कस्तो प्रभाव पार्ला ? यस्ता तमाम प्रश्नहरु सर्वसाधारणले सोध्न थालेपनि राजनीतिक माहोल ध्रुविकरणतर्फ जान लागेकाले अहिले नै भन्न सकिने स्थिति भने बनेको छैन् ।