काठमाडौं । आगामी कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२९) हुँदैछ ।
विश्व सम्मेलनअघि नेपाल जलवायु परिवर्तनका विषयमा गम्भीर बहस र छलफलमा छ । कोपअघि नै जलवायु परिवर्तन मन्त्रालय नै बनाउने सरकारको तयारी छ ।
आगमी कार्तिक २६ गतेदेखि जलवायु परिवर्तनका विषयमा कोप २९ हुने भएकाले नेपालले जलवायु परिवर्तनका विषयमा छलफल चलाइरहेको छ ।
कोप–२९ को पूर्व सन्ध्यामा राष्ट्रिय जलवायु सम्मेलन नै आयोजना गरी बहस चलाएको हो । विश्व शक्ति राष्ट्रहरुको कारण नेपालजस्ता मुलुकहरुले जलवायु परिवर्तनको समस्या झेल्नु परेको अवस्था छ । मानवीय गतिविधिकै कारण जलवायु परिवर्तनको प्रभाव अझ बढ्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।
जलवायु परिवर्तनकै कारण अत्याधिक गर्मी बढ्नुका साथै अनावृष्टी तथा सुख्खापन बढ्दै गएको छ । गत वर्ष नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले जलवायु परिवर्तनको घातक असरहरु नेपालले ब्यहोरिरहेको भन्दै नेपाललाई मद्दत गर्न विश्व समुदायलाई अपिल नै गरेका थिए ।
आगामी कोप २९ मा सहभागी हुँदै नेपालले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई छ । अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालले जलवायु परिवर्तनको मुद्दामा नेतृत्व गरिहेको दाबी गरिएको छ ।
त्यसैले वन तथा वातावरण मन्त्रालयको नाम नै परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय नै राख्ने तयारी सरकारले गरेको छ ।
कोपमा सबै देशहरू जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कट र समस्या समाधान गर्न एकजुट हुने विश्वास गरिएको छ । जलवायु सङ्कटसँगै समाधानमा नेपालले गरेको उपलब्धिबारे प्रचार गरी थप सहयोग र सहकार्यका माध्यमबाट नेपालको आवश्यकता पूर्ति गर्नेबारे अघि बढ्ने विश्वास सरकारको छ । तापमान वृद्धिलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनु जरुरी मन्त्री ऐनबहादुर शाहीे बताउँछन् ।
जलवायु परिवर्तनको प्रभाव मधेस प्रदेशले ब्यहोरिरहेको छ । जलवायु परिवर्तनका कारण मधेसमा कृषि क्षेत्र बढी प्रभावित भएको भन्दै समस्या समाधान गर्न विश्व समुदायसँग सहकार्य गरी अघि बढ्नुपर्ने मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह बताउँछन् ।
जलवायु परिवर्तनकै कारण वर्सेनि अप्रत्याशित रुपमा बाढीपहिरो आउने गरेको बताइएको छ । जलवायु परिवर्तनको क्षति समेत नेपालले पाउनुपर्ने दाबी नेपालले गरिरहेको छ ।
मन्त्रालयको नाम नै परिवर्तन गरेर भए पनि कोप २९ बाट नेपालले शक्ति राष्ट्रहरुबाट मनग्गे फाइदा लिने प्रयासमा छ । विश्वकै लागि गम्भीर चुनौतीका रुपमा देखिएको जलवायु परिवर्तनले निम्त्याएको संकटसँग जुध्न कुनै एक देश वा समुदाय मात्र नभर्य विश्व समुदाय नै एकजुट हुन जरुरी छ ।