News 24 Television
खेल संरचना निर्माणमा प्रदेश र स्थानीय सरकारको अग्रसरता

चितवन । नेपालले क्रिकेटमा पछिल्लो समय राम्रो गति लिए पनि यसको विकास र दीर्घकालीन सफलतामा अझै चुनौतीहरू देखिन्छन् । 

खेलाडीहरूको उत्कृष्ट प्रदर्शन आशा जगाएको भएपनि आधारभूत संरचना र व्यवस्थापनमा भने नेपाल अझै कमजोर देखिन्छ । घरेलु क्रिकेट संरचना र लिगको निरन्तरता, खेलाडीहरूको प्रशिक्षण सुविधामा सुधार, र प्रशिक्षक तथा व्यवस्थापनको स्थिरता आवश्यकता छ । 

यसका बाबजुद पनि नेपालमा क्रिकेटप्रति दर्शकहरूको रुचि पछिल्ला केही वर्षमा उल्लेखनीय रूपमा बढेको छ । खेलप्रेमीहरूको उत्साह मैदानमा मात्रै सीमित छैन, सामाजिक सञ्जालमा पनि नेपाली दर्शकहरूको संलग्नता अत्याधिक छ । 

नेपालमा हुने प्रत्येक म्याचमा ठूला संख्यामा समर्थकहरूको उपस्थिति देखिन्छ, चाहे त्यो स्थानीय लिग होस् वा अन्तर्राष्ट्रिय प्रतियोगिता । यो उत्साहले नेपाली क्रिकेटलाई मात्र प्रोत्साहित गर्दैन, अन्तर्राष्ट्रिय क्रिकेट समुदायमा पनि नेपालप्रतिको चासो बढाएको छ । 

क्रिकेटप्रति दर्शकहरूको रुचि र नेपालको खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण कार्य सुरु भएको थियो । 

परियोजनाको प्रारम्भिक चरणमा वित्तीय र प्राविधिक चुनौतीहरू पनि देखिएका कारण निर्माण कार्यमा ढिलाइ भएको थियो । यद्यपि, खेलप्रेमीहरूको ठूलो समर्थन, आर्थिक सहयोग, र सरकार तथा विभिन्न संघसंस्थाहरूको सहकार्यले गर्दा परियोजना पुनः गति लिएको छ । 

गत असार २३ गते रङ्गशाला निर्माणका लागि सम्झौता भई निर्माणको प्रक्रिया अघि बढेको हो । रङ्गशाला निर्माणका लागि महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिबीच दुईपक्षीय सम्झौता भैसकेको छ । 

७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा निर्माण सम्पन्न गर्ने गरी दुईपक्षीय सम्झौता गरिएको छ । ३० महिनामा निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको हो । सम्झौतापछि हाल दुईवटा टावर निर्माणको क्रम जारी छ । 

एउटा टावरमा ग्राउण्ड निर्माणको काम भइरहेको छ भने अर्को टावरमा फाउण्डेसन निर्माणको काम भइरहेको छ । पहिलेको तुलनामा काम प्रभावकारी रुपमा भएको जानकारी बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले गराएका छन् । नेपालका योजना अधुरो रहने गरेको भन्ने कुरालाई रङ्गशालाको निर्माण सम्पन्न गरेर चिर्ने उनको दाबी छ । 

बागमती प्रदेशको गौरवको आयोजनका रुपमा रहेको भन्दै भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले नमूना परियोजनाको रुपमा काम भइरहेको जानकारी गराएकी छन् । 

कामको वातावरण निर्माण गर्न महानगरपालिकाले केही कसूर बाँकी नराख्ने भन्दै तीन तहका सरकारको लगानीमा निर्माण थालिएको रङ्गशाला निर्माणका क्रममा बजेटको सूनिश्चितता प्रदेश सरकारले गरेको बताइन् ।

अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणसँगै नेपालले आर्थिक, सामाजिक, र सांस्कृतिक क्षेत्रमा ठूलो फाइदा पुग्ने देखिन्छ । यो रङ्गशालाले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको खेल मैदान प्रदान गर्दै नेपालमा ठूला प्रतियोगिताहरू आयोजना गर्न सक्ने वातावरण सिर्जना गर्छ ।

जसले नेपालमा पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन सक्छ । किनभने खेलकुद पर्यटन एक महत्त्वपूर्ण आर्थिक स्रोत मानिन्छ । रङ्गशालाले स्थानीय खेलाडीहरूको सीप विकासमा मद्दत पुर्याउने मात्र नभई नेपालका क्रिकेट खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम बनाउन योगदान पु¥याउने देखिन्छ । 

यसकासाथै नेपाललाई दक्षिण एसियाली क्षेत्रको प्रमुख खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ०६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update