ओखलढुंगा । पछिल्ला वर्षहरुमा कृषकको मोह परम्परागत खेतीमा भन्दा पनि नगदेबालीतर्फ बढेको देखिन्छ । छोटो समयमा प्रतिफल दिने र बजारको समस्या पनि खास नहुने भएपछि नगदेबालीलाई कृषकले आम्दानीको राम्रो स्रोतका रुपमा अभ्यासमा ल्याउन थालेका हुन् ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा पनि नगदेबाली टमाटर खेतीमा कृषकको व्यस्तता बढेको छ भने आम्दानी पनि राम्रै भइरहेको छ ।
छिटो प्रतिफल दिने र विक्रीका लागि बजारको समस्या पनि नहुँने हुँदा परम्परागत खेती छोडेर नगदेबाली उत्पादनतर्फ लाग्ने कृषकको संख्या बढ्दो क्रममा छ ।
मुलुकभर ठाउँ, माटो सुहाउँदो नगदेबाली उत्पादनमा कृषकको ध्यान बढी रहेका बेला ओखलढुंगाका केही कृषक टमाटर खेतीतर्फ आकर्षित छन् र उनीहरुले आम्दानी पनि राम्रै गरिरहेका छन् ।
उनी हुन् ओखलढुंगाको सिद्धिचरण नगरपालिका २ सेराबेसीका कृषक चुनकबहादुर कट्वाल । यतिबेला उनी टनेलमा उत्पादन भएको टमाटर स्याहारमा व्यस्त छन । तीन वर्ष अघिदेखि टनेलमै टमाटर उत्पादन कार्यमा लागेका छन् उनी ।
शुरुमा खाली जग्गामा थोरै बोट रोपेर टमाटर खेती गरेका उनले अहिले टमाटरका लागि ठाउँ बढाएका छन् । ८ वटा टनेलमा करिब एक हजार बोट टमाटर छन् कट्वालसँग ।
तीन वर्ष भयो टमाटर खेती गर्न लागेको । गएको वर्षको मात्रै कुरा गर्ने हो भने पनि कट्वालले टमाटर बेचेरै तीन लाख रुपैयाँ कमाए । यो वर्ष पनि कम्तिमा २ लाख रुपैयाँ आम्दानी हुने उनको आकलन छ ।
कृषक चुनकबहादुर कट्वालले गरेको टमाटर खेती र आम्दानीबाट विस्तारै अरु किसान प्रभावित छन् । कट्वालको सिको गर्दै सेराबेसीकै अर्की कृषक कल्पना कट्वाल पनि व्यस्त छिन् टमाटर खेतीमा ।
गएको वर्ष २ वटा टनेलबाट टमाटर खेती सुरु गरेकी उनले अहिले ४ वटा टनेलमा खेती गरिरहेकी छन् । यतिबेला टमाटर बिक्रीका लागि तयार भैसकेको छ ।
उनिहरु जस्तै साविक ठुलाछाप गाविस २ का १ दर्जन बढी कृषक पछिल्लो समय ब्यावसायिक टमाटर खेतीमा लागि परेका छन् ।
अन्य बालीभन्दा नगदेबालीले आर्थिक स्तर सुधार्न मद्त गरेपछि सेराबेसीका कृषकहरु परम्परागत बालीमा भन्दा टमाटर खेतीमा आकर्षित भैरहेका छन ।
टमाटरको बजार व्यवस्थापनमा पनि खासै समस्या देखिएको छैन । प्रतिकेजी ५० देखी ९० रुपैयाँसम्म स्थानीय हाटबजारमा टमाटर बिक्री हुने गरेको छ । कृषकहरुले टमाटर खेतीलाई प्राथमिकता दिएपछि सम्बन्धित निकाय पनि उनिहरुलाई साथ दिन लागिपरेको छ ।
पछिल्लो समय परम्परागत खेतीभन्दा नगदेवाली खेती कृषकका लागि राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । नगदेबाली खेतीलाई निरन्तरता दिन कृषकलाई प्रोत्साहन गर्ने, आवश्यक प्राविधिक ज्ञान तथा तालिम प्रदान गर्ने, बजारीकरणका लागि आवश्यक समन्वय गर्ने जस्ता कार्यमा स्थानीय सरकार र सम्बन्धित निकाय थप सक्रिय हुन आवश्यक छ ।