काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटप्रेमीहरूमा अत्यन्त उत्साह र जोश पैदा गरेको छ । घरेलु तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिताले एनपीएललाई अझ रोमाञ्चक बनाएको छ ।
युवा खेलाडीहरूलाई प्रतिभा देखाउने सुनौलो अवसर र विदेशी खेलाडीहरूसँग अनुभव साट्ने अवसरले खेलप्रेमीहरूको आकर्षण झनै बढाएको छ । एनपीएल हुने समायावधि नजिकिँदै गर्दा टिमहरूले विदेशी खेलाडीहरुलाई पनि धमाधम भित्र्याइरहेका छन् ।
सबैभन्दा धेरै पोखरा एभेन्जर्सले अहिलेसम्म चारजना विदेशी खेलाडी भित्र्याइसकेको छ । जसमा दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स, वेस्टइन्डिजबाट एन्डरसन फिलिप, नेदरल्यान्ड्सका बास डे लिडे र अमेरिकाका आन्द्रिएस गौस छन् । रोड्सले मुम्बई इन्डियन्स र हाललखनऊ सुपर जायन्ट्ससँग काम गरेका छन् ।
उनले दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र २ सय ४५ एकदिवसीय खेलमा प्रतिनिधित्व गरेका छन् । उत्कृष्ट फिल्डिङका लागि पनि उनी परिचित छन् । त्यस्तै एन्डरसन फिलिप वेस्ट इन्डिजका तीव्र गतिका बलर हुन् । फिलिपको बलिङमा तीव्र गति र सटीकता भएकाले उनी विकेट लिने क्षमतामा पनि अब्बल मानिन्छन् ।
बास डे लिडे नेदरल्यान्ड्सका एक प्रतिभाशाली अलराउन्डर खेलाडी हुन् । उत्कृष्ट ब्याटिङ र बलिङ क्षमताका कारण परिचित छन् । उनलाई विशेषतः टी–२० र एकदिवसीय खेलमा कुशल फिनिशरको रूपमा लिइन्छ । आन्द्रिएस गौस उत्कृष्ट ब्याटिङ र विकेटकिपिङ क्षमताका लागि आन्द्रिएस गौस परिचित छन् ।
जनकपुर बोल्ट्सले अमेरिकी युवा क्रिकेटर अलराउण्डर जोसुवा ट्रम्प र न्यूजियाल्डका जिम्मी निशामलाई अनुबन्ध गरेको छ । ट्रम्पको बलिङ र ब्याटिङ दुवैमा समान दक्षता छ । खेलमा सन्तुलन र दबाबको परिस्थितिमा उत्कृष्टता प्रदर्शन गर्ने क्षमताका कारण ट्रम्पले अमेरिकी राष्ट्रिय टोलीका लागि खेल्ने अवसर पाएका छन् ।
त्यस्तै जिम्मी निशाम दायाँ हातले बलिङ र ब्याटिङ गर्ने क्षमताका कारण टी–२०, एकदिवसीय, र टेस्ट क्रिकेटमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।
दक्षिण अफ्रिकाका अनुभवी तीव्रगतिका बलर मर्रस्यंट डी ल्यांगलाई चितवन राइनोजले अनुबन्ध गरेको छ । १४५ किलोमिटर प्रतिघन्टा बलिङ गर्नसक्ने ३४ वर्षीय लयांग दायाँ हाते ब्याट्सम्यान तथा बलर विश्व फ्रेन्चाइजी क्रिकेटमा प्रभावकारी खेलाडी मानिन्छन् ।
इङ्लिस क्रिकेटर सेफ अलि जेबलाई सुदूरपश्चिम रोयल्सबाट अनुबन्ध गरेको छ । टी२० करिअरमा १ सय ४० भन्दा माथिको स्ट्राइक रेटमा १२ सय रन जोडेका उनले पार्ट टाइम बलिङ गर्दै ३३ को औसतमा १२ विकेट लिएका छन् ।
त्यस्तै रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन पनि अनुबन्धित छन् । म्याकमुलेनले स्कटल्यान्डको राष्ट्रिय टोलीबाट २२ एकदिवसीय खेल खेलेका छन्। इङ्ल्यान्डका प्रतिभाशाली ब्याट्सम्यान तथा विकेटकिपर टम मुर्स लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् ।
२८ वर्षीय मुर्सले सन् २०२३ देखी टी–२० क्रिकेटमा आफ्नो क्षमता प्रदर्शन गर्दै आएका छन् । मुर्स काउन्टी, बिपिएल, एलपिएल, पिएसएललगायत विभिन्न लिगहरु खेलिरहेका उत्कृष्ट लयमा रहेका विकेटकिपर तथा ब्याट्सम्यान हुन् । कर्णाली याक्सले टेस्ट राष्ट्र पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात अनुबन्ध गरेको छ ।
त्यस्तै, बंगलादेशका अलराउन्डर सकिब अल हसनले पनि नेपाल प्रिमियर लिग–एनपीएल क्रिकेट खेल्ने इच्छा देखाएका छन् । त्यसैगरी भारतीय राष्ट्रिय क्रिकेट टीमका पूर्वओपनर शिखर धवनले पूरै प्रतियोगिता खेल्ने गरी ३ करोड भारु रकम मूल्य तोकेर एनपीएल का लागि नाम पठाएका छन् ।
एनपीएलको पहिलो संस्करणमा धवनसँगै अन्य भारतीय चर्चित खेलाडीहरुले पनि रुची देखाएका छन् । तर, उनीहरुको डिमान्ड चर्को छ ।