News 24 Television
सरकारको कामप्रति काँग्रेस सन्तुष्ट रहेको देउवाको दाबी

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको दाबी गरेका छन् । 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको बताएका हुन् । उनले हनिमुन डेज (१०० दिन) मा सरकारले राम्रो काम गरेको बताए ।

सभापति देउवाले सबै किसिमबाट सरकारले गति लिएको दाबी गर्दै विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको बताए । राहत तथा खोज-उद्धारमा सरकारले आफ्नो हिसाबले सुरक्षाकर्मीहरु तैनाथ गरी व्यवस्थापन गरेको उनकाे भनाइ छ ।

वर्तमान सरकार पूरा कार्यकाल चल्ने समेत उनकाे दाबी छ । एमाले-काँग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने उनकाे भनाइ छ । 

'अब मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ । सय दिनलाई मैले त राम्रो मानेको छु,' सरकारका काम-कारवाहीबारे साेधिएकाे प्रश्नमा देउवाले भने, 'सय दिनलाई हनिमुन डेज भन्छन् नि । राम्रो काम गरेको छ । राम्रो काम गरिरहेको छ, के भएको छ त ? गति पनि लिएको छ । बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ । मान्छे पठाउनुभएको हो, गरेको हो । हेलिकप्टरबाट पनि उद्धार गरेको हो । ठिक छ, त्यस्तो केही छैन, सबैको राम्रो छ सय दिनको काम । दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो । कहाँ काँग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर । कहाँ असन्तुष्ट हुनु, कुरै छैन नि त्यो त । सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो । त्यस्तो केही छैन ।'

सभापति देउवाले सानातिना समस्या आफ्नै पार्टीभित्र पनि भइरहने भन्दै अर्को दलसँग मिलेर सरकार बनाउँदा केही समस्याहरु आउनु स्वभाविक रहेको बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update