कास्की । सहकारी ठगी तथा संगठित अपराधमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखिने भएको छ ।
विहीबार जिल्ला अदालत कास्कीले रविलाई हिरासतमा राख्न अनुमति दिएको हो । म्याद थपसँगै रास्वपाका समर्थकले रविको रिहाइको माग गर्दै प्रदर्शन अझ् चर्काएका छन् ।
पछिल्लो एक हप्तादेखि पोखरामा दिनहँु पोखरा प्रदर्शन भइरहेका छन् । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
अदालतले हिरासतमा राख्न अनुमति दिएसँगै रास्वपा समर्थकको भीडले कास्की जिल्ला प्रशासनले लगाएको निषेधाज्ञालाई समेत तोडेको छ ।
गएको शुक्रबार रवि पक्राउ परेपश्चात शनिबारदेखि पोखरामा निरन्तर विरोध प्रदर्शन भइरहेको छ । यसक्रममा विहीबार भीडले पोखराको वाई चोकको निषेधाज्ञाको सुरक्षा घेरालाई तोड्दै राष्ट्रबैंक चोकसम्म पुगेको थियो ।
राष्ट्रबैंक चोकमा भीड अनियन्त्रित हुनथाले पछि स्थिति नियन्त्रणमा लिन प्रहरी अश्रु ग्याँस प्रहार गरेको छ । साथै सयौंको संख्यामा सुरक्षाकर्मी तैनाथ थिए ।
पोखराको प्रदर्शनले खास दबाब सृजना गर्न नसकेपछि रास्वपाले अबका आन्दोलन काठमाडौँमा केन्द्रित गरिने घोषणा समेत गरेको छ । सरकार मरेको तर न्यायालय प्रतिको विश्वास नमरेको भन्दै रास्वपा उपसभापति डीपी अर्यालले आक्रोश पोखे ।
पोखरामा रविको पक्षमा दिनहुँ प्रदर्शन भइरहँदा विपक्षमा सहकारी पीडितहरुले पनि दिनहुँ आन्दोलन गर्दै आएका छन् । पीडितहरुले पोखराको मुस्ताङ चोकमा विहीबार पनि ’सहकारी पीडितलाई न्याय दे ’ भन्दै प्रदर्शन गरे ।
रवि लामिछानेले नै सहकारीबाट पैसा लगेका र उनी जेल जानै पर्ने भन्दै सुर्यदर्शन सहकारी पीडित गुणराज आचार्यले आक्रोश पोखेका छन् ।
सहकारीमा डुबेको रकम फिर्ता पाइने आशामा सहकारी पीडितहरुले पोखरामा प्रदर्शन गर्दै आइरहेका छन् । उनीहरूले विक्रम सम्वत् २०८० माघ २२ गते प्रहरीलाई रवि लामिछानेको नाम किटान गरी जाहेरीको समेत दिएका थिए ।
सहकारीको समस्या देशकै समस्या भएको र एउटा सभापतिसँग सती जाने हिसाबले रास्वपाका नेता तथा कार्यकर्ता आउन नहुने सूर्यदर्शन सहकारी पीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठ बताउँछन् ।
उता, रास्वपा समर्थकले काठमाडौँमा प्रदर्शन गर्ने जनाएको छ भने यता सहकारी पीडितहरुले भने आफूहरुले बचत रकम फिर्ता नपाउन्जेल पोखरामा शान्तिपूर्ण प्रदर्शन जारी राख्ने जनाएका छन् ।