News 24 Television
बगरमा परिणत भएको खुर्कोट र मुलकोट बजार 

सिन्धुली । असोज ११ र १२ गतेको वर्षापछि आएको बाढी र डुबानका कारण देशका अन्य धेरै स्थानमध्ये सिन्धुलीको खुर्कोट र मुल्कोटमा बढि नै क्षति पुग्यो । 

सुनकोशीमा आएको बाढीका कारण खुर्कोट र मुल्कोट बजार बगरमा परिणत भएको छ । बाढीका कारण यहाँका अधिकांश नागरिक विस्थापित हुनुप¥यो । पूर्ण र आंशिक रुपमा विस्थापित भएकाहरु यतिबेला आफ्नो भत्केको घर निर्माणमा जुटेका छन् । 

सिन्धुलीमा बाढी र डुबानका कारण विस्थापित नागरिक राहतको पखाइमा छन् । असोज ११ र १२ गतेको वर्षापछि आएको बाढी, पहिरो र डुबानको कारण सिन्धुलीमा दुइ जनाको मृत्यु भयो भने ३ अर्ब रुपैयाँको भौतिक क्षति भयो । 

८ सय ५७ हेक्टर क्षेत्रको बाली नष्ट भएको छ भने २९ वटा विद्यालयमा क्षति पुगेको छ । जिल्लाको २६३ घर पुर्ण र २२५ घरमा आशिंक क्षति पुगेको छ । यस क्षेत्रका अधिकांश स्थानीयको बस्ने आवास र अन्न फलाउने खेती बगेको छ । 

घरमा भएको अन्नपात, लत्ताकपाडा सबैँ बाढीमै बग्यो भने बाढीका कारण विस्थापित भएका धेरैले शरीरमा लगाएको एक जोर लुगा भन्दा केही पनि बचाउन सकेनन् । 

बाढीपहिरो प्रभावित नागरिकको उद्धार राहत र पुर्नस्थापनाको काम भइरहेको प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माको भनाइ छ । एकद्धार प्रणाली निति बनाइ राहतको व्यवस्था गर्ने काम भएकोले केही ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । 

प्रभावित घरपरिवारलाई क्षतिपूर्ति तथा पुर्नस्थापनाको लागी सक्दो सहयोग गर्ने पनि उनले बताए ।  यस अघि पनि करिब ४० वर्ष अघि सुनकोसी नदिमा आएको बाढीले नदी आसपासको बस्ती डुवाएको खुर्कोटका ७८ वर्षिय गुरु प्रसाद देवकोटाले बताए । 

बाढीको अघिल्लो घटनाक्रमलाई हेर्दा पनि सिन्धुलीमा नदी किनारामा बस्ती बसाल्नु जोखिमपूर्ण रहेको स्थानीयको भनाइ छ । 

अहिले डुवानमा परेको खुर्कोट बजार १८ वर्ष अगाडिसम्म पनि बगर नै थियो ।  पछि विपी राजमार्ग सञ्चालनमा आएपछि यो क्षेत्र बजारीकरण हुँदा ठुलाठुला संरचना निर्माण भए ।

नयाँ सहरको रुपमा उदाएको यही मुल्कोट र खुर्कोटलाई अहिले फेरि बाढीले बगरमै परिणत गरिदिएको छ । सरकारले आगामी दिनमा नदि र खोलाको नजिक पुर्वाधार निर्माण नगर्न र बस्ती नबसाउन अनुरोध गरेको छ । 

 भौतिक पुर्वाधार मन्त्री देवेन्द्र दाहालले पनि नदी र खोलाको नजिक संरचना निर्माण गर्ने काम बन्द गर्नुपर्नेमा जोड दिएका छन् । 
 
असोजमा आएको बाढीपहिरोले सिन्धुली जिल्लाका चार सय ८८ घरमा क्षति गरेको छ । दुई सय ६३ घर पुर्ण क्षति र दुई सय २५ घरमा आशिंक क्षति पुगेको हो । 

सुनकोसी नदिमा आएको बाढीबाट जिल्लाका सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकामा सबैभन्दा बढि क्षति पुगेका छ । यी तीन पालिकाका मात्रै दुई सय ५० घरमा क्षति पुगेको सरकारी तथ्यांक छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ०६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update