News 24 Television
ओलीको सय दिनमा बाढीपहिरो र दशैं बाधक !

काठमाडौं । वर्तमान सरकार गठनको एक सय दिन उपलब्धिहिन रहेको भन्दै चौतर्फी आलोचना भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले उपलब्धीपूर्ण भएको दाबी गरेका छन् । 

१७ वर्षदेखि अल्झिएको शान्ति प्रक्रियालाई अन्तिम निश्कर्षमा पु¥याउन सफल भएकोदेखि सहकारी अपचलन कारबाही प्रक्रियालाई प्रधानमन्त्री ओलीले सय दिनको सफलता भनेका छन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि विभिन्न मन्त्रालयका मन्त्रीदेखि कर्मचारीसम्म कार्यसम्पादन सम्झौता गरी एकसय दिनको मधुमास समय नै उपलब्धीपूर्ण बनाउन चाहेका थिए । 

सोही अनुसार उनले पहिलो सय दिन, दोस्रो सय दिन र तेस्रो सय दिनको लागि भन्दै मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गरेका हुन् । सोही अनुसार नै काम गर्दै जाँदा असोज १० देखि १३ गतेको भारी वर्षाले विपदजन्य घटना हुँदा र दशैंका कारण ७० प्रतिशत मात्रै काम सम्पन्न भएको दाबी गरेका छन् ।  

प्रधानमन्त्री ओलीको नजरमा सय दिनको खास उपलब्धी :  

-  प्रधानमन्त्री र मन्त्रीहरुबीच भएको कार्य सम्पादन सम्झौता अनुसार, पहिलो सय दिनमा सबै मन्त्रालयले २७४ वटा काम गर्ने भनिएकोमा १८५ वटा काम सम्पन्न । 

-   असोज १० गतेदेखि १३ गतेको बाढीपहिरोबाट ७ हजार १३५ वटा विपद्जन्य दुर्घटना भएकोमा प्रभावित नागरिकको सुरक्षित पुनस्थापनामा सरकार केन्द्रित । 

-   बाढीपहिरोका कारण मृत्यु भएका ३९१ जनाको प्रतिपरिवारलाई २ लाख तथा प्रभावित २ हजार ५५५ परिवारलाई ४ करोड ५० लाख राहत प्रदान ।  संकटग्रस्त क्षेत्रका ७१ वटा स्थानीय तहमा ४३ करोड रुपैयाँ विनियोजन । 

-     ३५ जिल्लाका ३० लाख बढी किसानले लामो समयदेखि दूधको भुक्तानी नपाएकोमा भुक्तानीका लागि ६० करोड निकासी । अहिलेसम्म झण्डै १५ लाखले भुक्तानी प्राप्त । 

-  कृषिबाली तथा पशुधन बीमा बापतको भुक्तानी गर्न ८० करोड बीमा प्राधिकरणको खातामा पठाइएको । 

-  निर्माण ब्यवसायीहरुले पाउनुपर्ने मध्ये संघीय मन्त्रालयहरुबाट ६ अर्ब ७५ करोड रुपैयाँ सय दिनको अवधिमा भुक्तानी प्राप्त । 

-    सहकारी बचत अपचलन गरेका मध्ये ६ सय भन्दा माथिलाई कानूनी कारबाही गरिएको तथा ५ सय ७५ जना जेलमै रहेको अवस्था । 

-    निजी क्षेत्रको माग बमोजिम अर्थतन्त्र सुदृढिकरणका लागि आर्थिक सुझाव आयोग गठन । सय दिनको अवधिमा २ सय उद्योगमा करिब ३४ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता । 

-   एक सय दिनको अवधिमा बंगलादेशमा ४० मेगावाट विद्युत निर्यातका लागि त्रिपक्षीय विद्युत विक्री सम्झौता । 

-     फास्ट ट्रयाकको मकवानपुर धेद्रे सुरुङ ब्रेक थ्रु, नागढुंगा मुख्य सुरुङको नाइनिङ, सिद्धबाबा सुरुङमा उल्लेखनीय प्रगति । 

-    वितेको सय दिनमा ४ हजार ३६ किलोमिटर सडक मर्मत, साढे ३२ किलोमिटर सडक कालोपत्रे । 

-   तीन वटा प्रदेशबाट ७ वटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार । देशभरका १९ वटा संघीय अस्पताहरुमा दुई सिफ्टमा बहिरंग सेवा सञ्चालन । 

-   कीर्तिपुर क्रिकेट रंगशालामा फ्लड लाइट जडान र प्याराफिट निर्माण गर्न शहरी विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच समझदारी भई काम शुरु  । 

प्रधानमन्त्री ओलीले विगत १७ वर्ष अघिदेखि थालनी भएको शान्ति प्रक्रियाको बाँकी कामलाई आफूले अन्तिम निश्कर्षमा पु¥याउन सफल भएको समेत दाबी गरेका छन् । 

सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सर्बसम्मतिबाट स्वीकृत र प्रमाणिकरण भएको भनी उनले आफ्नो मधुमास समयको उपलब्धी भएको बताएका छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update