काठमाडौं । एमाले आफुलाई लोकतान्त्रिक र जनवादी केन्द्रियतामा विश्वास गर्ने पार्टी भन्छ । तर, लोकतान्त्रिक पद्धतिलाई बचाई राख्ने सवालमा एमाले नेतृत्वमाथि प्रश्न भने उठिरहेको छ ।
पार्टी नेतृत्वले गर्ने निर्णयमा सामान्य प्रश्न समेत गर्न नपाइने गरी एमालेले अभिव्यक्ति स्वतन्त्रता हनन गर्न खोजेको आरोप समेत लागिरहेको छ । के एमालेभित्रको आन्तरिक लोकतन्त्र खतरामा परेकै हो ?
एमाले लोकतन्त्रलाई राजनीतिक आधार मान्छ । लोकतन्त्र र लोकतान्त्रिक विधि पद्धतिलाई अंगिकार गर्ने एमालेभित्रका केहि घटनाक्रमले भने के एमाले लोकतान्त्रिक पार्टी हो ? बहुमतको निर्णय र अल्पमतको सम्मान एमाले भित्र हुन्छ ?
यस्ता प्रश्नहरु जबरजस्त सतहमा छन् । एमाले अध्यक्ष केपी ओलीले पार्टी सत्तालाई आफूअनुकुल चलाइरहेको आरोप पार्टीभित्र झिनो रुपमा उठ्ने गर्छ । एमालेका केहि नेताहरुले ओलीको शैलीमा प्रश्न गरिरहेका छन् ।
ओलीले पार्टीमा आफ्नो निर्णयलाई सर्वसम्मतिमा लैजान नसक्ने स्थिति आए नेताहरुलाई पाखा लगाउदै जान्छन भन्ने आरोप समेत उत्तिकै लाग्ने गर्छ, यसका उदाहरणको रुपमा हेरिन्छ, नेकपा एकीकृत समाजवादीमा आएर पार्टी महासचिव नै बनिसकेका घनश्याम भुसाल र एमालेभित्रै रहेर पनि भूमिकाबिहीन बनिरहेका भीम रावल । तर, पछिल्लो समय पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा आलोचनात्मक टिप्पणी गर्ने नेताहरु रावलसहित बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनामाथि स्पष्टीकरण सोधिएपछि ओलीमाथिको यस्तो आरोप थप चर्किएको छ ।
उसोतः ओलीले आफूविरुद्ध बोल्नेमाथि स्पष्टिकरण सोध्ने र कारवाहि पक्रिया थाल्नुले पनि एमाले विधिमा चल्न नसकेको प्रष्टैसंग देखिने राजनीतिक विश्लेषक केदार खड्काको दाबी छ ।
पार्टीभित्र विधि, विधान र जनताको बहुदलीय जनवादको कुरा गर्दा वा आफ्नो धारणा राख्दा कार्वाही गरिने पद्धतिको विकाश भएको भन्दै चर्चा चल्न थालेको छ ।
एमालेभित्र जिम्मेवारीबिहीन जस्तो देखिने भीम रावलले जग्गा दानदेखि विभिन्न विषयमा आलोचना गरिरहेको स्थितिमा पछिल्लो समय उनलाई स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरणपछि एमाले विचौलिया र व्यापारीको कब्जामा परेको भन्दे भीम रावलले निष्ठामा कारबाहीको डण्डा चलाउन खोजिएको आरोप लगाए ।
एमालेभित्र सर्वशक्तिमान बनेका ओलीले अवसरको वितरणदेखि नेता व्यवस्थापनको पक्षमा समेत निर्णयलाई केन्द्रिकृत पार्दै लगेका छन् । उसोतः ओलीले आफू लोकतान्त्रिक विधि र जनताको बहुदलीय जनवादबाहिर जानै नसक्ने दाबी गरिरहन्छन् । तर, सार्वजनिक रुपमा भने ओलीले आफ्ना विरोधीलाई ठेगान लगाउने गरि राजनीतिक कदम चालिरहेको बताइन्छ ।