काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकालको सय दिन पुरा गरेको अवसरमा सम्बोधन गरेका छन् । सरकारका उपलब्धिबारे सम्बोधन गरेका ओलीले बलियो आधारसहित सरकार बनेको दाबी गर्दै अर्थतन्त्र सुधारदेखि जनतामा आशा पलाएको जिकिर गरेका छन् । के ओलीले भनेजस्तै जनता सरकारसँग खुशी छन् त ?
प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व गरेको सय दिनको अवसरमा उपलब्धि सार्वजनिक गरेका छन् । ओलीले करिब आधा घण्टासम्म गरेको सम्बोधनको क्रममा सरकारको स्थायित्व, सरकार बन्ने जग र एमाले कांग्रेस गठबन्धनको औचित्यबारे समेत बोलेका छन् ।
अझं ओलीले भ्रष्टाचार नियन्त्रणमा निर्मम बन्ने मात्रै बताएका छैनन्, सहकारी ठगलाई कारबाही थालिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विषयलाई उपलब्धिको रुपमा व्याख्या गरेका छन् ।
यस्तै सहकारीको रकम अपचलनकै आरोपमा अन्य ५ सय ७५ जनामाथि पनि अदालती प्रक्रिया जारी रहेको उनले जानकारी दिएका छन् ।
ओलीले सरकारका उपलब्धिमा अर्थतन्त्र उकालो लागिरहेको जिकिर गर्दै व्यापारीको मनोबल समेत बढेको दाबी गरेका छन् । तर, थपिएको सार्वजनिक ऋण र त्यसलाई घटाउन के गर्ने भन्ने विषयमा भने खास उपाय सुझाउन सकेनन् ।
विभिन्न दाबी गरेका ओलीले आफूलाई काम गर्न नदिन सरकार ढल्न लागेको हल्ला चलाइदिएको आरोप समेत लगाएका छन् । ओलीले कांग्रेस एमाले प्रतिषपर्धी दल भएता पनि देशलाई विकास समृद्धितर्फ लैजान मिलेर अघि बढेको बताएका छन् । दुई दल मिलेर बनेको गठबन्धन सरकार पूरा कार्यकाल जाने दाबी समेत केपी ओलीको छ ।
तर, प्रधानमन्त्री ओलीले यस्तो जिकिर गरेपनि प्रतिपक्षले भने उनीमाथि अनेक लान्छना लगाउदै आन्दोलन मै उत्रिने तयारी अन्तिम चरणमा रहेको बताइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा केन्द्रित आन्दोलनमा छ भने, माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्दैछ । यस परिस्थितिमा के ओलीले दाबी गरे जस्तै जनता सरकारबाट खुशी छन् त ?
शंका र प्रश्नहरु भने यत्रतत्र छन् । ओलीले सरकार नढल्ने र ढाल्ने दिवा सपना नदेख्न चेतावनी दिएपनि के साँचै वर्तमान सरकार यतिसम्म बलियो छ त ? यसबारे सबैका आ–आफ्ना दाबी सतहमा छन् ।
सत्ता मिलाप
सत्ता नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओली दुई तिहाई बढिको नेतृत्व गरिरहेका छन् । अंकगणितका हिसाबले बलियो देखिएको सरकारको नेतृत्व गरेपनि ओली रक्षात्मक नै बन्नु परेको छ ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दललाई विश्वासमा लिनुपर्ने ओलीसामू बाध्यता नै छ । तर, एउटा मुद्दामा कांग्रेस–एमाले समान धारणा निर्माणमा सहमत बनेका छन् ।
त्यो हो, रास्वपा सभापति रवि लामिछानेको पक्राउ र पोखरा केन्द्रित रास्वपाको आन्दोलनलाई अतिवादको संज्ञा दिने विषय । सत्ता गठबन्धनको बैठकले रास्वपाको प्रदर्शन न्याय निरुपणलाई प्रभावित पार्ने कोसिसको रुपमा अर्थ्याएको छ ।
एमालेजस्तै कांग्रेसले पनि विज्ञप्ति जारी गर्दै रास्वपाले विधिको शासनलाई खिल्लि उडाने प्रयास गरेको आरोप लगाएको छ ।
कांग्रेसले पनि रास्वपाको गतिविधिले विधिको शासनलाई उपहास गरेको भन्दै कडा निन्दा गरेको छ । साथै रास्वपालाई जिम्मेवार बन्न समेत अपिल पनि गरेको छ ।
यसरी सत्ताका प्रमुख घटक एमाले र कांग्रेसमा रास्वपा र रविबारे समान धारणा रहेपनि अन्य विषयमा भने मतभिन्नता प्रष्ट देखिन्छ ।
केहि रोचक तथ्य
प्रधानमन्त्री ओलीको दाबी– सरकार ढल्ने दिवा सपना नदेखे हुन्छ । ओलीको प्रष्टीकरण– मेरो कार्यकाल सकिन एक हप्ता अघि नै शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्छु ।
कारण– ओलीले सहजै सत्ता हस्तान्तण गर्दैनन् भन्ने राजनीतिक वृतमा स्थापित भाष्य र कांग्रेसमा रहेको यस्तो शंका दुर गर्नु ।
ओलीको तयारी– राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेशको ड्राफ्ट तयार ।
कांग्रेसको अडान– अस्थिरता र दलीय अविश्वासको वातावरण सिर्जना हुन्छ, अध्यादेश स्वीकार गरिन्न ।
ओलीको प्रष्टीकरण– अध्यादेशको तयारी छैन्, राजनीतिक दल सम्बन्धि कानून आवश्यक छ । तयारी गर्दैछु ।
स्थिति– सत्ता नेतृत्व जोगाउन अध्यादेशबाट ठूलो दल बन्ने केपी ओलीको योजनामा ब्रेक ।
ओलीको कदम– मीनबहादुर गुरुङबाट जग्गा दान स्वीकार गर्न पार्टीमा भिटो प्रयोग
कांग्रेसको प्रतिक्रिया– स्वार्थ बाझिने गरि जग्गा दान स्वीकार गर्ने विषयको जवाफ एमालेले दिनुपर्छ
फेस सेभिङमा ओलीको चलाखी– पार्टीभित्रै विवाद चल्न थालेपछि स्पष्टीकरणको डण्डा र पार्टीबाट एकैमतले दान सकार्ने निर्णय ।
केपीको अभिव्यक्ति कडा, व्यवहारको पर्खाई– भ्रष्टाचार र सहकारी ठगीमा कारबाहीको प्रतिबद्धता र सार्वजनिक सम्बोधन ।
सत्ता गठबन्धनको दबाब– सहकारी ठगीमा मुछिएका कांग्रेस–एमाले हाइप्रोफाइलबारे के गर्ने भन्ने दबाबले रहस्यमयी मौनतामा ओली ।
प्रतिपक्षीको प्रश्नः रविलाई जस्तै अन्य हाइप्रोफाइल कहिले पक्राउ पर्छन् ? भ्रष्टाचारी जोगाउन सरकार बनाएको आरोपलाई खण्डन गर्न चुनौति ।
यस्ता थुप्रै प्रकरणले कांग्रेस एमाले सरकार संकटमा देखिन्छ । उनीहरुले सुशासन कायम गर्ने र भ्रष्टाचारविरुद्ध अभियान चलाउने दाबी गरेपनि जनताले विश्वास गर्ने वातावरण बन्न सकेको स्थिति नभएको टिप्पणी भइरहेको छ ।
यता, सरकार नै लामो समय नजाने विश्लेषण समेत भइरहेको छ । कांग्रेसले ओलीलाई निर्णय गर्दा रोक्ने र ओलीले खुलेर काम गर्न नसक्ने स्थितिका बीच अहिले प्रतिपक्षीले थापिरहेको जालले सरकारको भविष्य लामो छ भन्न सकिने अवस्था त छैन । यद्दपी, कांग्रेस सभापति शेरबहादुर देउवाको संयमता कहाँसम्म रहन्छ यसले वर्तमान सरकारको आयुलाई अवश्य निर्धारण गर्ने देखिन्छ ।