News 24 Television
विदाको उपयोग गर्न स्कुले विद्यार्थीलाई ‘फेस्टिवल क्याम्प’

काठमाडौं । रचनात्मक सिकाइले विद्यार्थीमा गहिरो र दीर्घकालीनरुपमा नै सकारात्मक प्रभाव पार्छ । यसले विद्यार्थीमा नयाँ तरिकाले सोंच्न, समस्याहरूको समाधान गर्न, र आविष्कारशील हुन प्रोत्साहित गर्छ । रचनात्मक प्रक्रियामा सहभागी हुँदा विद्यार्थीहरूले आफ्नो क्षमता, रुचि, र कलात्मकता अभिव्यक्त गर्न पाउँदा आत्मविश्वास बढाउँछ । 

विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा सिक्न काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई दशैँ तिहारबिच छुट्टीको समय उपयोग गराउँदै फेस्टिभल क्याम्प’ सञ्चालन गरिरहेको छ । 

प्रयोगात्मक तथा रचनात्मक सिकाइ, खेल र मनोरञ्जनका माध्यमबाट विद्यार्थीहरुलाई शैक्षिक अभिरुचिमा प्रोत्साहन गर्नु ‘फेस्टिभल क्याम्प’ को मुख्य उद्देश्य हो । अझ एसईईमा सामुदायिक विद्यालयको नतिजा खस्कदो रहेको परिपेक्षमा शैक्षिक नतिजा सुधारका लागि महानगरपालिकाले थालेको पृथक प्रयासबाट विद्यार्थीहरू पनि उत्साहीत छन् । 

उनीहरूमा सकारात्मक उर्जा थपिएको छ । विदाको सदुपयोग भएको छ भने कक्षामा पढाई हुने भन्दा फरक तरिकाको सिकाईको अनुभव विद्यार्थीहरूको छ । 

गणित, विज्ञान र सामाजिक विषयमा सहयोग गर्ने गरी परियोजनामा आधारित कक्षा सञ्चालनमा छन् । ई–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, कथा वाचन (स्टोरी टेलिङ), वातावरण शिक्षा, मनोविज्ञान जस्ता विषय अनुभूति गराउने क्रियाकलाप र सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास पनि बढेको छ ।  

११ वटा स्रोत केन्द्र र एसइई परीक्षामा १ सय ५० भन्दा बढी विद्यार्थी भएका ५ ठूला विद्यालयमा क्याम्प राखिएको छ । नेतृत्व परिवर्तनसँगै शैक्षिक क्षेत्रको सुुधारका लागि गुणात्मक र परिमाणात्मक कार्यक्रमलाई प्राथमिकता दिएर सञ्चालन गरिरहेको महानगरले जनाएको छ ।

महानगरपालिकाले ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ नामक गौरवको कार्यक्रमअन्तर्गत कक्षा १० का विद्यार्थीका लागि सिकाइ प्रोत्साहन गर्न गरेको फेस्टिभल क्याम्पमा सैद्धान्तिक, प्रयोगात्मक तथा रचनात्मक माध्यमबाट शैक्षिक गतिविधि सञ्चालन गरिएको छ । 

विद्यार्थी सहभागी गराएर सह–सिकाई र समूहगत सिकाइका आधारमा शिक्षण सिकाई भैरहेको छ, जसबाट आगामी एसईईको नतिजामा सुधार आउने अपेक्षा शिक्षकहरुको छ ।

नेपालका शैक्षिक संस्था अनुसन्धानात्मक र प्रयोगात्मक बन्न नसक्दा विद्यालयस्तरमा ‘ड्रपआउट रेट’ डरलाग्दो छ । पाठ्यपुस्तकमा मात्रै विद्यालय केन्द्रीत बन्दा समयसापेक्ष प्रविधिको विकास भैरहँदा पुरानो नै हुनुपर्छ भन्ने मानसिकताका कारण लगानी बढ्न सकेको छैन । 

कितावको विकल्प खोज्न शिक्षाविद्हरूले पटक पटक सुझाएका छन् । यो अवस्थामा महानगरले गुणस्तरीय शिक्षाका लागि गरेका प्रयासले परीक्षाको नतिजासँगै विद्यार्थीहरूको पढाई प्रतिको रुची बढाउनेमा कुनै शंका छैन । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update