रुपन्देही । भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।
बुधबारको पहिलो खेलमा अली हुसेनको सम्हालिएको ब्याटिङ र समोनको उत्कृष्ट बलिङमा पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबारको खेलमा जावेद गोहारले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई ४७ रनले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेको हो ।
पास्तिानसँग पराजित भएसँगै श्रीलंकन टिम भने प्रतियोगिताबाट बाहिरिएको छ । दोस्रो खेलमा दुई खेलाडीको अर्धशतकको मद्दतमा भारतको लाइफ केयर क्रिकेट क्लबले बंगलादेशको साइक्यू क्रिकेट एकेडेमीमाथि ६३ रनको सहज जित निकाल्यो ।
यी दुबै टीम यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनल पुग्नेमा नेक्सस रुपन्देही–११ पनि छ । बुधबार सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानको जावेद गोहारले निर्धारित खेलमा ६ विकेटको नोक्सानीमा १ सय ३७ रन बनायो ।
दोस्रो खेलमा सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लाइफ केयरले ४ विकेटको नोक्सानीमा १ सय ८९ रनको बलियो योगफल बनायो । बलिङमा लाइफ केयरका दीपक पुनिया, योगेश कुमार र रोहित डङ्गवालले २–२ विकेट लिए ।