काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारे १०० दिन पुगेको अवसरमा बुधबार अपराह्न सम्बोधन गरेका छन् । यस सय दिनको अवधिमा सरकारका उपलब्धी सार्वजनिक गर्दै उनले सरकार सही बाटोमा रहेको र विरोधीहरुले सरकार ढाल्न नसक्ने दाबी गरे ।
सरकार गठन भएदेखि नै सरकार अहिले ढल्ने हल्ला चलाएर भ्रम छर्ने गरिएको भन्दै ओलीले यस्तो भ्रममा नपर्न आग्रह गरेका छन् । कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार कसैले ढाल्न नसक्ने उनले बताए ।
ओलीले भने, ‘काँग्रेस–एमाले मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ । सरकारले १०० दिन पूरा गरेपछि विरोध गर्छौं भन्छन् । होइन, सरकार बनेकै दिनदेखि विरोध सुरू गरिएको हो । यसको कारण थियो– देशमा साम्प्रदायिक विद्वेष खडा गर्ने, अराजनीतिक बोली र व्यवहारबाट हाम्रो सभ्यता र संस्कृतिमाथि हमला गर्ने, चलिरहेका उद्योगहरू बन्द गराउने, पुँजी पलायन गराउँदै देशको अर्थतन्त्र र वाणिज्य क्षेत्रलाई तहसनहस पार्ने र नयाँ उद्योग स्थापना हुन नदिने ।’
ओलीले काममा सफलता पाउन कर्मचारी प्रशासनको सहयोग चाहिने भन्दै सरकार बनाउने र ढाल्ने खेलले कर्मचारीतन्त्र नै अलमलिएको बताए । ‘सरकारका प्राथमिकतालाई नागरिकको जीवनमा विस्तार गर्न मुख्य जिम्मेवारी ब्युरोक्रेसीले निर्वाह गर्नुपर्छ । कामका दौरानमा मलाई कतिपयले सुनाउनुहुन्छ– बारम्बार सरकार फेरबदलका घटनाहरुले ब्युरोक्रेसी नै अल्मलिएको छ, कर्मचारीले काम होइन स्थायित्वप्रति आशंका गर्छन्,’ उनले भने।
हेर्नुस् प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ ः