काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलहरुको बैठकले सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बचाउमा भीड जम्मा पार्ने कार्यको निन्दा गरेको छ ।
कास्की प्रहरीको हिरासतमा रहेका रविको रिहाइका लागि रास्वपा नेता कार्यकर्ताहरुले पोखरामा दिनहुँ आन्दोलन गरिरहेका छन् । रास्वपाको उक्त गतिविधिले लोकतन्त्रलाई डिरेल गर्ने खतरा बढेको भन्दै गठबन्धनको बैठकले संविधान र कानुनको पालना गर्न आग्रह गरेको छ । साथै भीड जम्मा पारेर न्याय प्रभावित पार्ने काममा नलाग्न समेत रास्वपालाई चेतावनी दिएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकपछि जानकारी दिँदै एमाले महासचिव शङ्कर पोखरेलले रास्वपा नेता कार्यकर्ताहरूले भीड जम्मा गरेर आन्दोलन गर्नु उचित नभएको निष्कर्ष निकालिएको बताए ।
छानविन र न्यायिक निरुपणको आफ्नो प्रक्रिया हुने बताउँदै उनले भने, ‘छानविन प्रक्रिया अघि बढिरहेको बेला सडकमा भिड जम्मा गरेर अदालतलाई समेत प्रभावित पार्नेखालको गतिविधि स्वीकार्य हुँदैन । यो लोकतान्त्रिक दृष्टिकोणले पनि उचित कुरा होइन ।’