काठमाडौं ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद् पछिको पुनःनिर्माणमा सरकार गम्भीर भएर लागेको बताएका छन् ।
मंगलवार रामेछापको मन्थलीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार काम गर्नकै लागि बनेबाले नागरिकको सहजताका लागि आवश्यक पुनःनिर्माणको काम गरिरहेको बताए ।
उनले सरकारले आफ्नो गतिमा काम गर्दागर्दै विपद् आएपछि सरकारका प्राथमिकताहरु परिवर्तन भएको बताए । उनले सरकारले बाढी पहिरोबाट पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित भइ काम गरिरहेको बताए । उनले विपद्का कारण सबैभन्दा बढी क्षति सडक र पुलपुलेसामा भएको बताए ।
उनले भने, ‘यो सरकार काम गर्नका लागि बनेको सरकार हो । यो सरकारले आफ्नो गतिमा काम गरिरहेको अवस्था थियो । काम गर्दागर्दै बाढी, पहिरोले हामीलाई यसरी वितण्डा मच्चायो र एउटा नयाँ परिस्थितिको सिर्जना गरिदियो । त्यसैले हाम्रा प्राथमिकताहरु अहिले परिवर्तन भएका छन् । हामीले प्राथमिकता केमा दिने ?’
गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीले बगाएको रामेछाप र सिन्धुली जोड्ने खुर्कोटमा रहेको सुनकोशी नदीको बेलिब्रिज पुल निर्माण सम्पन्न भइ सञ्चालन गरिएको छ ।
नेपाली सेना र सरकारले मिलेर पुल निर्माण शुरु भएसँगै यातायात सञ्चालनमा केही सहज हुने अपेक्षा छ । सबैभन्दा पहिला पुलमा लोड सिमित गर्नुपर्ने चुनौति छ ।
नेपाली सेनाले १५ टन मात्रैको सिफारिस गरेको छ । स्पिड सिमित गर्ने र भारवहन १५ टन मात्रै गर्नेगरी वार्निङ साइन राख्ने योजनाअनुसार काम अघि बढाइएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।