News 24 Television
विपी राजमार्ग : ५ घण्टा जाममा बसेर यात्रा गर्न बाध्य

काठमाडाैँ । अविरल वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले संघीय राजधानी काठमाडौंबाट पूर्वी क्षेत्र जोड्ने सडक सञ्जाल छिन्नभिन्न छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाले देशभर नै ठूलो जनधनको क्षति गर्यो । पुल पुलेसा, सडक सञ्जाल र भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । विपद्का कारण आवागमन रोकिएका सडक सञ्जालहरु अधिकांश पूर्ण रुपमा नै सञ्चालनमा आइसकेका छन् । तर विपी राजमार्ग भने अझै पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।

पूर्ववर्ती क्षेत्रबाट संघीय राजधानी आउने वैकिल्पक बाटो भनेको उदयपुर चितवनबाट काठमाडौं आउने हो । तर लामो पर्ने भएकाले पाँच घण्टा भन्दा बढी जाममा बसेर भएपनि विपी राजमार्गबाटै काठमाडौं आउने गरेका छन् । विपी राजमार्गको यात्राका क्रममा पर्यटकहरु पनि सास्ती व्यहोरिरहेका छन् । सुनकोशीले धेरै ठाउँमा सडक नै बगाएको छ । त्यसको विकल्प दिन सरकारलाई अझै धेरै समय लाग्ने निश्चितप्रायः छ । ४/५ घण्टा कुरेर भए पनि विपि राजमार्गबाटै छिटाे पुगिने, अर्को बाटो जाँदा एक दिन पूरै समय लाग्ने चालकहरू बताउँछन् ।  चितवन हुँदै जाँदा बाटो घुमाउरो भएकाले विपी राजमार्गबाटै जाम बसेर भए पनि जान छिटो हुने एक चालकले बताए ।

उनले भने, ‘४-५ घण्टा कुरेर बस्नुपर्छ । बाटो बन्ला जस्तो छैन, बाटो नै यस्तो छ । शुरुमै यस्तो जाम परिसक्यो, बीच बीचमा अझ कति बाँकी छ । उताबाट जाँदा घुमेर जानुपर्छ, टाढा छ ।’

यात्रामा भेटिएकी रुसकी एक पर्यटकले आफूसँग समय नरहेको तर अघि बढ्न समस्या भएको गुनासो गरिन् । उनले काठमाडौंका लागि आफू हिँडे पनि बाटोमा धेरै समयदेखि जाममा बस्नुपरेको बताइन् । ‘यहाँ किन केही गरिएको छैन, थाहा छैन, मसँग समय छैन । म काठमाडौंका लागि हिँडेको हो । मेरो घर रसिया हो,’ उनले भनिन् ।

काभ्रेको भकुण्डेबेंसी क्षेत्रमा भेटिएका मोटरसाइकल चालकसँग कुरा गर्दा उनले आफू झापाबाट काठमाडौं हिँडेको दुई दिनमा भकुण्डेबेँसी आइपुगेको बताए । उनले बाटो चितवनतिर पनि बिग्रिएकाले छोटै बाटोबाट जाने निर्णय गरेर आएपछि सहज नरहेको प्रतिक्रिया दिए । उनले विगतमा बाटो राम्रो हुँदा एक दिनमा पुग्ने ठाउँ अहिले दुई दिनमा पनि पुग्न कठिन भइरहेको गुनासो गरे । 

बाढी, पहिरोका कारण विपी राजमार्गसहित देशभर सडक, पूर्वाधारका क्षेत्रमा ६ अर्ब बढीको क्षति भएको अनुमान छ । तर काम पूरा गर्नका लागि १५ अर्ब बढी रकम लाग्ने सरकारले अनुमान गरेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update