कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध आरोपमा प्रहरीले काठमाडौँमा पक्राउ गरी पोखरा ल्याएदेखि रास्वपाका समर्थकले पोखरामा दिनहूँ प्रदर्शन गरिरहेका छन् । मङ्गलबार पनि रास्वपाका समर्थकहरूले प्रदर्शन जारी राखे । मङ्गलबार भने कोण सभा नगरी नाराबाजी गर्दै पोखराका मुख्य मुख्य चोकमा प्रदर्शन गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको आरोपमा प्रहरीले काठमाडौँमा पक्राउ गरी पोखरा ल्याएदेखि रास्वपाका समर्थकले पोखरामा दिनहूँ प्रदर्शन गरिरहेको छ । केन्द्रीय तहका अधिकांश नेतादेखि रास्वपाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरु सडक प्रदर्शनमा उत्रिएका छन् ।
शुक्रबारबाटै लागू हुने गरी जिल्ला अदालत कास्कीले ६ दिनका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएसँगै सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै रास्वपाले मङ्गलबार पनि पोखरामा नाराबाजी गर्दै जुलुस समेत निकालेको छ । रास्वपाको गण्डकी प्रदेश पार्टी कार्यालय पोखराको जिरो किमीबाट सृजनाचोक, पृथ्वीचोक, बुद्धचोक हुँदै अमरसिंह चोकमा पुगी फेरि पृथ्वीचोक आएर विरोध प्रदर्शन आयोजना गर्यो । विरोध सभामा बोल्दै आन्दोलनबाटै सरकारलाई ठेगान लगाउने र आन्दोलन निरन्तर गरिरहने उद्घोष रास्वपा उपसभापति डिपि अर्यालले गरे ।
शनिबार रास्वपाका नेता तथा कार्यकर्ताहरूले प्रदर्शनमा केही उग्र देखिएपनि आइतबार र सोमबार भने शान्त रुपमा देखिएका थिए । रवि लामिछाने पक्राउ परे लगत्तै रास्वपाले देशभरिका आफ्ना कार्यकर्तालाई पोखरा आउन उर्दी नै जारी गरेको थियो । अहिले पोखरामा चितवन काठमाडौँ तनहुँ स्याङ्जा लगायतका जिल्लाबाट नेता कार्यकर्ताहरू दिनहु प्रदर्शनमा उत्रिराखेका छन् । तर पार्टीले ह्विप जारी नगरेको, रविमाथि स्वार्थ खिचिएको र राजनीतिक बदला लिएको कारण आफूले आन्दोलनलाई समर्थन गरेको स्याङ्जाबाट आएका दिलीप केसी बताउँछन् ।
रास्वपाले आन्दोलन तथा जुलुशमा पार्टीको औपचारिक लोगो, चुनाव चिन्ह र झण्डा भने प्रयोग गरेको देखिँदैनन् । हरेक दिन फरक फरक स्थानमा रास्वपाले प्रदर्शन जारी राखेको छ । अदालतलाई प्रभावित पार्नका लागि नभई जनतालाई खुसी दिन र गलत कामको खबरदारी गर्न सडकमा आएको रास्वपा नेता तथा सांसद सोविता गौतमको भनाई छ ।
रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की प्रहरीले अदालतको मार्फत ६ दिनका लागि हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । रविको हिरासत बसाई बुधबार ६ दिन पूरा हुँदैछ ।