News 24 Television
गाजामा भोकमरी सिर्जनामा इजरायलको सक्रियता, अमेरिकी चेतावनी

काठमाडौँ । इजरायलले उत्तरी गाजामा खाद्यान्न र औषधिलगायत मानविय सहायता आपूर्ति रोकेको छ । इजरायलले गाजामा भोकलाई नयाँ ‘हतियार’को रूपमा प्रयोग गरिरहेको आरोप लागिरहेको छ । यसैबीच सैन्य सहायता कटौतिको चेतावनीसँगै अमेरिकाले इजरायललाई आपूर्ति सहज गर्न ३० दिनको समय दिँदै पत्र पठाएको छ । तर, त्यो चेतावनीलाई इजरायलले वेबास्ता गर्दै ‘भोकमरी नीति’ अपनाएको छ । 

इजरायलले खाद्यान्न, पानी, र औषधिलगायत महत्वपूर्ण आपूर्तिहरू उत्तरी गाजामा पुग्न दिएको छैन् । इजरायली सेनाले हमास लडाकुहरूलाई भोकै मर्ने उद्देश्यले खाद्यान्नको आपूर्तिमा अवरोध गरिरहेको आरोप लगाइएको भएपनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सरकारले जानाजान खाद्य आपूर्तिमा अवरोध गरेको आरोपलाई अस्वीकार गरेका छन् । सैन्य कारबाही पनि जारी राखेको इजरायलले ‘भोकमरी नीति’ अपनाएपछि अमेरिकाले तत्काल मानवीय सहायता अघि नबढाए सैन्य सहायतामा कटौती गर्ने चेतावनी दिएको छ । योसँगै अमेरिकाले उत्तरी गाजामा इजरायलको गतिविधिमाथि निगरानी बढाएको छ  । अमेरिकाले इजरायललाई आपूर्ति सहज गर्न ३० दिनको समय दिँदै पत्र पठाएको भएपनि इजरायलले बेवास्ता गरेको छ । यसले पुरै गाजापट्टी अनिकालको जोखिममा रहेको भन्दै सबैभन्दा खराब अवस्था निम्त्याउन सक्ने चिन्ता संयुक्त राष्ट्र संघको छ । 

गाजामा सहयोगको अवस्था 

गाजामा सवारी व्यवस्थापन गर्ने जिम्मेवारी इजरायलको सैन्य एकाई कोगाटमा रहेको छ । एकाईमा  अनुसार अक्टोबरको पहिलो १२ दिनमा गाजामा ५ हजार ८ सय ४० टन खाद्यान्न पु¥याइएको थियो भने सेप्टेम्बरमा यो संख्या ७५ हजार ८ सय ९८ टन थियो । संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार युद्ध सुरु भएयता गाजा प्रवेश गर्ने लरीको संख्यामा उल्लेख्य कमी आएको छ । करिब दुई हप्तामा सहायता पु¥याउने ५४ प्रयासमध्ये एउटा मात्र सफल भएको जनाइएको छ । मौज्दात रहेका खाद्यान्न उत्तरी गाजामा वितरण भइरहेको भएपनि आपूर्ति द्रुत रूपमा घटिरहेकाले डेढ हप्तामा भोकमरी हुने विश्व खाद्य कार्यक्रमले चेतावनी दिएको छ ।
 
इजरायली सेनाले उत्तरी गाजा सहरको घनाबस्ती भएको जबलिया क्षेत्रलाई घेरेको छ । सेनाले त्यहाँ शहरी शरणार्थी शिविरसहित क्षेत्रमा बमबारी पनि गरेको छ । जबलिया क्षेत्रमा पानी र खाद्यान्नमा संकट देखा परेको र जनजीवन कष्टकर बन्दै गएको विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । तर, इजरायलले उत्तरी गाजामा भोकमरीको कुनै नीति नरहेको प्रष्टिकरण दिएपनि मानवीय सहायता आपूर्तिमा गरिएको कटौतिको विश्वभर आलोचना भैरहेको छ । किनकी, छ लाख ६४ हजार मानिसहरू आपतकालीन र एक लाख ३३ हजार मानिसहरू भयावह खाद्य संकटको सामना गरिरहेको छन् । 


 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update