काठमाडौं । मोटरसाइकलको साइलेन्सर मोडिफाई गर्ने प्रचलन पछिल्लो समय निकै बढ्दो छ । विशेषगरी युवाहरूमा यसले लोकप्रियता पाएको छ ।
साइलेन्सरलाई मोडिफाई गरेर मोटरसाइकलको आवाज ठूलो र गडगडाहटपूर्ण बनाइन्छ । तर, यो कार्य कानूनी रूपमा गलत हुनुका साथै वातावरण र जनस्वास्थ्यका लागि हानिकारक पनि छ । अत्यधिक आवाजले ध्वनि प्रदूषण निम्त्याउँछ जसले मानिसहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पु¥याउँछ भने वृद्ध, बालबालिका र बिरामीहरूको लागि यो अझै हानिकारक हुन्छ ।
यसलाई मध्यनजर गर्दै मोटरसाइकलको साइलेन्सर मोडिफाई गरी हुने ध्वनी प्रदुषण नियन्त्रण गर्न गोकर्णेश्वर नगरपालिकाले एक अनौठो अभियान सुरु गरेको छ ।
मोटरसाइकलमा ठूलो आवाज निकालेर कुद्ने चालकहरूको भिडिओ खिचेर पठाएमा ५ हजार रुपैयाँ पुरस्कार दिइने भएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै मोटरसाइकलको साइलेन्सर मोडिफाई गरी ठूलो ध्वनी प्रदुषण गर्दै पड्काउँदै चलाएको कारणले वातावरणीय एवं आम नगरबासीको अमनचैनमा खलल पुर्याएको जनाएको छ ।
साथै मोटरसाइकलको रुप मोडिफाई नगर्न र गरिएको भए पनि सुधार गर्नु हुन सूचित गराईएकोमा हाल पनि केही मोटरसाइकल सवारी चालकहरुले मोटरसाइकलको साइलेन्सर मोडिफाई गरी चलाउने गरेको पाइएकोले सवारी चालकको मोटरसाइकल नम्बर सहितको फोटो तथा विवरण पठाउन भनेको हो ।
जो कसैले पनि सवारी नम्बर र फोटोसहित ९८५१२९६३१२ मा सूचना पठाएर पुरस्कार जित्न सक्नेछन् । नगरपालिकाले यस्तो कदम चाल्नुको मुख्य कारण वातावरणीय प्रदूषण र शान्त जीवनयापनका लागि भएको बताएको छ ।
जानकारी दिने व्यक्तिको नाम गोप्य राखिने छ । सूचना दिनेको नाम गोप्य राख्ने प्रावधानले यस अभियानमा सर्वसाधारणको सहभागिता बढ्ने विश्वास नगरपालिकाले लिएको छ । यस अभियानबाट गोकर्णेश्वर क्षेत्रको ध्वनीको वातावरणमा सुधार आउने अपेक्षा गरिएको छ ।
अझ, कानूनी रूपमा मोटरसाइकलको साइलेन्सर मोडिफाई गर्नु निषेध गरिएकाले यो प्रचलन व्यक्तिगत रुचिको लागि मात्र नभई सामाजिक र कानूनी जिम्मेवारीको रूपमा पनि विचार गर्नु आवश्यक छ ।