रुपन्देही । दशैंमा समेत उल्लेख्य ब्यापार नभएको भन्दै ब्यापारीहरु चिन्तित छन् । आर्थिक मन्दीका कारण साना उद्योगहरु संकटमा छन् । पछिल्लो समय लगानी अनुसारको प्रतिफल नपाउँदा रुपन्देहीका साना तथा घरेलु उद्योग धमाधम बन्द भइरहेका छन् । विगतका तुलनामा नयाँ उद्योग पनि खुल्ने क्रम घटेको छ ।
नयाँ उद्योग खुल्ने क्रम घट्ने र पूराना उद्योग बन्द भइरहँदा पनि वास्तविकता बुझेर समस्या समाधन गर्नेतर्फ तीनै तहका सरकारको ध्यान गएको देखिँदैन ।
उपभोक्ता घट्दै जाँदा र आर्थिक मन्दीका कारण रुपन्देहीमा घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढेको छ । थोरै लगानीमा सञ्चालन गर्न सकिने र उर्जा खपत तथा कामदार सहजै पाइने भएपछि लगानी गर्नेहरु धेरै थिए । तर, पछिल्लो तीन वर्षयता नयाँ उद्योग दर्ता गर्ने क्रम घट्नुका साथै पुराना बन्द गर्ने क्रम बढेका छन् ।
तीन आर्थिक वर्षको तथ्यांक
आ.व. २०७९\८० मा १ हजार १३० उद्योग दर्ता हुँदा २१७ बन्द ।
आ.व. २०८०\०८१ मा ८३७ उद्योग दर्ता हुँदा ३४५ बन्द ।
चालु आ.व.२०८१\८२ को दुई महिनामा १५८ नयाँउद्योग दर्ता हुँदा १ सय ८ वटा बन्द ।
भएको घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले जनाएको छ । यो तथ्यांकले पनि घरेलु तथा साना उद्योगका लागि कुनैबेला हब मानिने रुपन्देहीमा आर्थिक संकटको अवसर देखा परिरहेको पुष्टि हुन्छ । बन्द हुनेमा कतिपय दर्ता मात्रै भएका तर संचालनमा नभएका छन् भने धेरैजसो लगानी अनुसारको प्रतिफल नपाएका छन् ।
जिल्लामा सञ्चालित साढे १८ हजार घरेलु तथा साना उद्योगमा करिब ४४अर्ब लगानी भएको छ । यसबाट ४६ हजार जतिले रोजगारी पाएका छन् ।
यसमध्ये साढे ७० प्रतिशत महिला मात्रै रोजगारमा छन् । उत्पादन, कृषि तथा वन, पर्यटन र सेवामूलक नयाँ उद्योग थपिने क्रम घट्दै जानु र पूराना उद्योग बन्द हुँदा निजी क्षेत्रमा निराशा छाएको छ ।
राज्यले श्रमप्रधान तथा उर्जा खपत न्यून हुने प्रकृतिका उद्योगलाई घरेलु र पाँच करोडसम्मको स्थिर पूँजी लगानी हुने उद्योगलाई साना उद्योग अन्तर्गत राखेको छ ।
भारतसँगको सहजमार्ग, विश्व पर्यटन केन्द्र लुम्बिनी, गौतमबुद्ध विमानस्थल लगायतका कारण सम्भावना देखेर विशेषगरी पछिल्ला वर्षहरुमा रुपन्देहीमा विदेश गएर फर्केका र युवा पुस्ताले कृषि, होटल तथा रेष्टुरेन्ट, हस्तकला, छाला जुत्ता, सःमिल, सिलाइकटाई, धातुजन्य, खाद्य तथा पेय, इन्जिनियरिङ वर्कसप, फर्निचर लगायत घरेलु तथा साना उद्योगमा बढी मात्रामा लगानी गरेका छन् । तर, कोरोना महामारीले यस्ता धेरै उद्योग बन्द भएका थिए ।
यसका साथै सरकारी नीति, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज, आर्थिक मन्दी जस्ता कारण उद्योग बन्द हुने क्रम पनि बढिरहेको छ ।
उद्योग बन्द गरेर कतिपय लगानीकर्ता पुनःविदेश पलायन भएका छन् । सरकारले के कारणले उद्योग बन्द भइरहेका छन् ? यसबारे चासो भने देखाएको छैन ।