काठमाडौं । सहकारी ठगी र वचतकर्ताको विचल्ली अत्याशलाग्दो विषय बन्न पुगेको छ । सहकारीमा वचत गरेका सर्वसाधारणले पैसा कहिले फिर्ता पाउलान ? यसको कुनै टुंगो छैन् ।
सहकारी ठगी आरोप लागिरहेका हाइप्रोफाइलमाथिको कारबाही र सरकारी उपेक्षाको विषय चर्किन थालेको छ । यसमा कांग्रेस नेता धनराज गुरुङको विषयमा के होला त ?
सहकारीबाट सर्वसाधारणले ठूलो धनराशी गुमाएका छन् । पीडितलाई वचत फिर्ता गर्न सरकारले ५ लाखसम्मका वचतकर्तालाई सम्बोधन गर्ने भनेपनि यो समस्या समाधान हुनेमा शंका छ ।
केपी ओली नेतृत्वको सरकारले प्रचण्ड नेतृत्वको सरकारले ल्याएको बजेटलाई स्वीकार गरेको जस्तो पनि देखिन्न, पुरक बजेटको तयारी गरेको पनि स्थिति छैन ।
यस्तोमा सहकारी ठगीमा परेका सर्वसाधारणको वचत फिर्ता कहिले हुन्छ ? प्रश्नमात्रै छैन, अनिश्चित पनि छ । सहकारी ठगीबारे छानविन गर्न बनेको संसदीय विशेष समितिले वुझाएको प्रतिवेदन र कार्यान्वयनको विषयमा विवाद देखिन थालेको छ ।
सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा लिएको छ । उनीमाथि अनुसन्धान चलेपनि कांग्रेस उपसभापति धनराज गुरुङविरुद्ध सरकारले किन कारबाही अघि बढाएन भन्ने चर्चा तीब्र बनिरहेको छ ।
धनराज गुरुङले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको दाबी गरेपनि उनले मितेरी सहकारीमा गरेको कारोबार र लिएको ऋणले नै उनीमाथि गम्भीर आशंका छ । तर, धनराज भने भ्रष्टाचारविरोधी अभियानका कारण आफूविरुद्ध षडयन्त्र भएको जिकिर लिदै आएका छन् ।
संसदमै उनले नेल्सन मण्डेलासँग तुलना गर्दै आफू निर्दोष भएको प्रमाण दिनुपर्नेमा जोड दिइरहेका छन् । धनराजले आफ्नो दोष नरहेको जिकिर गरेपनि संसदीय विशेष छानविन समितिको नेतृत्व गरेका एमाले सांसद सुर्य थापा भने सहकारी डिभोर्स भन्दै धनराजमाथि व्यङ्ग्य कसिरहेका छन् ।
यसरी धनराजमाथि सहकारी ठगीको आरोप लाग्दै गर्दा उनी अनुसन्धान गर्न चुनौति दिइरहेका छन भने ठगीको प्रमाण ल्याइदिए राजनीति नै छाडिदिनेसिसम्मको दाबी गरिरहेका छन् ।
यसरी धनराजले अनेक दाबी गर्दै गर्दा उनले मितेरी सहकारीमा ऋण तिरेको विषयलाई भने कानूनी प्रवन्धनको रुपमा अथ्र्याउन थालेका छन् । तर, धनराजले पत्नीसँग गरेको सम्बन्ध विच्छेदलाई नै धेरैले शंकाको नजरले हेरिरहेका छन् । उसोतः सरकारले व्यापक आलोचना र विरोधपछि धनराजकी पूर्वपत्नी ज्योति गुरुङविरुद्ध रेडकर्नर नोटिसका लागि इन्टरपोललाई पत्राचार गरेको छ ।
ज्योतिविरुद्ध इन्टरपोलले पक्राउका लागि सदस्य राष्ट्रलाई भन्नेछ । तर, उनीपनि गितेन्द्रबाबु राईजस्तै कुनै मुलुकमा बसेको हुनसक्ने स्थितिका कारण के हुन्छ भन्ने एकिन विवरण भने आउने सम्भावना क्षीण छ ।
धनराजका दाता पनि मीनबहादुर गुरुङ
धनराज गुरुङले पनि मितेरी सहकारीमा ऋण तिर्न विवादीत व्यवसायी मीनबहादुर गुरुङबाट नै ऋण लिएको खुलेको छ । विवादास्पद काममा परिरहेका मीनबहादुरले धनराजलाई मात्रै ऋण दिएका छैनन्, उनले एमालेलाई पार्टी कार्यालय बनाउन जग्गा दान दिएका छन् ।
घर पनि बनाइदिने जिम्मा लिएका मीनबहादुरमाथि अदालतमा केहि मुद्दा समेत विचाराधीन छन् । यता, कांग्रेस–एमाले सत्ता सहकार्य पनि छ । यस्तोमा धनराजले लिएको ऋण होस् वा एमालेबाट सहकारी ठगी आरोप खपिरहेका लेखा समितिका सभापति ऋषीकेश पोखरेल नै किन नहुन, यी हाइप्रोफाइलहरु अनुसन्धानको दायरमा आउलान् ? कारबाहीमा पर्लान ? प्रतिपक्षीले प्रश्न गरिरहेका छन् । तर, धनराज, ऋषीकेशजस्ता हाइप्रोफाइललाई सरकारले अनुसन्धानको घेरामा नल्याउने हो भने सडकमा समेत यसको प्रतिरोध हुने स्थिति छ ।
यता, मीनबहादुरको स्वार्थ बाँझिने दानले समेत हलचल भने ल्याइदिएको छ । मीनबहादुरले गरेको दानप्रति ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले पनि गम्भीर चासो देखाएको छ ।
अदालतबाट दोषी ठहर र न्यायिक प्रक्रियामा रहेका व्यक्तिसँग दान लिनुलाई ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचारको पक्षपोषणको रुपमा लिएको छ ।