News 24 Television
घट्दै मखमली फूल र मालाको माग, निराश छन् गुण्डुवासी

काठमाडाैँ । तिहार आउन अब केही दिन मात्रै बाँकी छ । यस वर्ष कार्तिक १८ गते भाइटिका परेको छ । १४ गतेदेखि तिहार विधिवत रुपमा शुरु हुनेछ । यतिबेला भक्तपुरका फूल व्यवसायी र किसानलाई मखमली फूलको माला बनाउन भ्याइ नभ्याइ छ । तिहारमा मखमली फूलको माला विशेष मानिन्छ । त्यसैले पनि भक्तपुरवासी यतिबेला माला उन्न, फूल टिप्नमा व्यस्त छन् । भक्तपुरको गुण्डुका कृषक मखमली फूल टिप्न बिहानै बारीमा पुग्छन् । दिउँसो घाम लागेको बेलामा बिहान टिपेको फूल उन्छन् र माग गरेअनुसार बजार पठाउँछन् । मखमली फूलको पकेट मानिने गुण्डुको मुख्य आयश्रोत नै फूलको व्यापार हो । किसान एक अर्कामा अर्मपर्म गरी मखमली फूलको खेती गर्दछन् ।

नेपालीहरूको सांस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौं) लाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए ।

भक्तपुर गुण्डुकी जानु कार्की यस वर्ष धेरै पानी परेकाले फूल राम्रो नभएको बताउँछिन् । अहिलेसम्म २५ हजार रुपैयाँ जतिको माला विक्री गरिसकेको बताइन् । उनले माला र फूलको मूल्य भने विगतको सरह नै रहेको बताइन् । एउटा माला २५ रुपैयाँसम्ममा बेच्ने गरेको उनकाे अनुभव छ ।

FINAL.00_03_44_02.Still017-1729586215.jpg
 

स्थानीय सुमित्रा कार्की फूल राम्रो नभएको गुनासो गरिन् । युवा पुस्ताले चासो नदेखाउने र वृद्धवृद्धाले काम गर्न नसक्दा गुण्डुमा फूलको उब्जनी नै मासिने हो की भन्ने चिन्ता उनलाई छ । मालाको मूल्य विगतको झैँ यस वर्ष पनि २० रुपैयाँ नै रहेको बताइन् । आफूसँग किनेर लैजानेहरुले बढी नाफा खाने गरेको तर किसानलाई २० रुपैयाँ भन्दा बढी नदिने गरेको गुनासो उनको छ ।

उनले भनिन्, ‘भाउ कहिले पनि बढेन । आउँदा हामीले २५ भनेपनि २० देखि दिन्न भन्छन्, उनीहरु बाहिर पठाउँदा बढी नाफा खान्छन्, हामीलाई २० बाट कहिले नि बढाउँदैनन् । अहिले पहिला जस्तो गरेर भक्तपुरमा बेच्न जानु पर्दैन भन्ने मात्रै हो । यहाँ नै आउँछन् । पहिला हामी भक्तपुर बेच्न जान्थ्यौँ । दुःख र मेहनतअनुसार मूल्य छैन ।’ कार्कीका अनुसार फूलको खेती गरेर माला बनाउनसके धान भन्दा नाफा हुन्छ ।

FINAL.00_05_04_06.Still024-1729586218.jpg
 

२० वर्षदेखि फूलको माला बनाउँदै आएकी गुण्डुकै स्थानीय श्रृष्टी कार्की अरु सबैको मूल्य बढ्दा फूलको मूल्य किन बढेन ? भन्दै प्रश्न गर्छिन् । आँखा राम्रोसँग देखेर माला उन्ने बेला र अहिले आँखा कमजोर भएको बेलामा माला उनेको मूल्य बराबर रहेको उनकाे अनुभव छ । 

‘कोही साना भन्छन्, कोही ठूला भन्छन्, छान्छन् पनि । हाम्रो मूल्य नै छैन । दुःख त गरेको हो । बिहान शीतमा गयो, टिप्यो, दिउँसो यसरी गाँस्यो, औषधि हाल्यो ।’ उनले भनिन्, ‘औषधि हालिरहनुपर्छ । औषधिको मूल्य फूल भन्दा महंगो छ । औषधि ४÷५ दिनमा हालि रहनुपर्छ । यो भन्दा २० वर्ष पहिला र अहिलेको मूल्य एउटै हुन्छ त ?’

भक्तपुरको गुण्डुमै विगत १० वर्ष यता मखमली फूलको माला बनाइ बेच्दै आएकी किसान सानु सुनुवार काम केही नभएकाले फूलको उत्पादन गरी माला बनाएर बेच्नसके घर खर्च चलाउन सहज भएकाले माला उन्ने र बेच्ने काममा लागेको बताउँछिन् । उनले फूलको व्यापार राम्रो नभएको गुनासो गर्दै २० रुपैयाँसम्म व्यवसायीले किनेर लैजाने तर किसानलाई त्यसले फाइदा नहुने बताइन् । उन्नत जातको फूल किसानलाई दिनसके त्यसबाट फाइदा हुने उनको भनाइ छ । 

FINAL.00_05_13_20.Still025-1729586213.jpg
 

‘फूलको व्यापार राम्रो भएन । सधैँ १८ रुपैयाँदेखि २० रुपैयाँसम्म किनेर लैजान्छन् । कृषकलाई अलि घाटा जस्तो भयो । घरमै ठेकेदारले प्रतिगोटा २५ मा लगे अलि राम्रो हुन्थ्यो । फूल खेती गर्न धेरै दुःख छ,’ उनले भनिन्, ‘औषधि हाल्नुपर्छ, औषधि हाल्दा क्यान्सर रोग लाग्ला जस्तो अनुभव आफूलाई नै हुन्छ । दिदिबहिनीलाई यसबाट पैसा आए घरखर्च चलाउन सहज हुन्छ । तिहारमा माल बेचेर आफ्ना दाजुभाईलाई केही किन्न पनि सजिलो हुन्छ । कृषि कार्यक्रममहरुबाट उन्नत जातको फूलहरु हामीलाई दिए हुन्थ्यो भन्ने छ ।’

गुण्डुकै अर्की स्थानीय विनिता केसी गुण्डुका किसान मखमली खेतीमा आवद्ध रहेको र घरको काम गरेर फूलको काम गर्न पनि भ्याउने भएकाले खर्च जुटाउन मखमली फूल लगाउने र माला बनाइ बेच्ने गरिरहेको बताउँछिन् । उनले अरु कुरा हेरी फूल खेती गर्न गाह्रो रहेको बताइन् । मखमली फूलमा यस वर्ष विगतको तुलनामा बढी पानी परेकाले क्षति पुगेको र किसानले मेहनत गरेअनुसार बजारमूल्य नरहेको उनकाे गुनासो छ । 

FINAL.00_04_35_00.Still021-1729586216.jpg
 

नगरपालिका र वडाहरुले राम्रो र उन्नत बीउ वितरण गर्नसके किसानले फूल उब्जाउन कठिनाइ भोग्न नपर्ने स्थानीय बताउँछन् । महिला मात्रै होइन गुण्डुका पुरुष पनि माला उन्नमा व्यस्त देखिन्छन् । सूर्यविनायकका किसान शहदेव बस्नेत १२ वर्षदेखि फूलको माला उन्दै र बेच्दै आएका छन् । पोहोरको तुलनामा फूल सिजन केही ढिला भएको र बेमौसमी झरीले क्षति गरेको उनले बताए । गत वर्ष २५ सय माला बनाएकोमा यस वर्ष अहिलेसम्म १ हजार माला मात्रै बनाउनसकेको उनकाे भनाइ छ । 

विगतको तुलनामा अहिले फूल व्यापार गर्न गाह्रो रहेको किसान बताउँछन् । विचौलियाका कारण फूल बेच्न कठिन भएको किसान गुनासो गर्दछन् । फूलको व्यापार क्रमशः वर्षेनी घट्दै गएको उनीहरूकाे भनाइ छ । यस वर्ष विगतको तुलनामा फूलको उत्पादन कम भएको र बजार पनि नरहेको किसानको गुनासो छ । 

FINAL.00_00_54_07.Still004-1729586213.jpg

FINAL.00_02_14_07.Still010-1729586286.jpg

FINAL.00_04_40_07.Still022-1729586286.jpg

FINAL.00_15_43_00.Still045-1729586289.jpg

FINAL.00_05_00_01.Still023-1729586288.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update