News 24 Television
शान्तिपूर्ण बन्न थाल्यो रास्वपाको पोखरा केन्द्रित प्रदर्शन

कास्की । सभापति रवि लामिछानेको पक्राउको विरोधमा सोमवार पनि दिनभर नै रास्वपा कार्यकर्ताहरुले पोखरामा प्रदर्शन गरे । आइतवार निकै आक्रामक देखिएका रास्वपा कार्यकर्ता सोमवार भने शान्त देखिए । आइतबार निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीले पानीको फोहोरा तथा अश्रुग्यास नै प्रहार गरेको थियो । सोमवार प्रशासनले तोकेको निषेधित क्षेत्र बाहिरै बसेर प्रदर्शन गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टीकोे पुरै शक्ति अहिले पोखरामा केन्द्रित छ । पार्टी सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराधमा प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएदेखि रास्वपा नेता कार्यकर्ता पोखरा केन्द्रित बनेका हुन् । केन्द्रीय तहका अधिकांश नेता तथा रास्वपाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै सांसद पोखरामै छन् । शुक्रबारबाटै लागू हुने गरी जिल्ला अदालत कास्कीले आइतबार मात्रै ६ दिनका लागि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । लामिछानेलाई पोखरा ल्याएदेखि नै हरेक दिनजसो रास्वपाका नेता तथा कार्यकर्ताहरूले पोखराका मुख्य चोकमा प्रदर्शन गर्ने कार्यलाई निरन्तरता दिएका छन् ।

 आइतबार पोखराको सहिद चोकमा जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोड्दै अघि बढ्न खोजे पनि उनीहरुले सोमबार शान्तिपूर्ण प्रदर्शन गरे । सोमबार पोखराको पृथ्वीचोकमा भेला भएर पृथ्वीचोक नयाँ बजार, महेन्द्रपुल, चिप्लेढुङ्गा हुँदै मानव अधिकार चोकमा पुगी विरोधसभा आयोजना गरेका थिए । यसअघिका सम्बोधनमा रवि लामिछानेको बचाउमा मात्रै अभिव्यक्ति दिएका रास्वपाका नेताहरुले सोमबार भने सहकारी पीडितलाई न्याय दिनुपर्ने भनाइमा आफ्नो शब्द खर्चिए ।  

रवि लामिछाने पक्राउ परे लगत्तै रास्वपाले देशभरिका आफ्ना कार्यकर्तालाई पोखरा आउन उर्दी जारी गरेको थियो । अहिले पोखरामा चितवन, नवलपुर, काठमाडौँ, तनहुँ, स्याङ्जा लगायतका जिल्लाका रास्वपाका कार्यकर्ताहरू दिनहु प्रदर्शनमा उत्रिएका छन् । तर प्रदर्शनकारीहरुले पार्टीको औपचारिक लोगो, चुनाव चिन्ह र झण्डा भने प्रयोग गरेको देखिँदैनन् । उनीहरु राष्ट्रिय झण्डा प्रयोग गरिरहेका छन् । हरेक दिन फरक फरक चोकमा रास्वपाले आफ्नो प्रदर्शन जारी राखेको छ । पार्टी सभापति लामिछाने हिरासतमुक्त नहुँदासम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ । 

आइतबार अदालतमा बयान दिन जाने क्रममा अदालत परिसरमा टीभी जर्नलिष्टहरुसँग कुरा गर्दै रास्वपा सभापति लामिछानेले देशब्यापीरुपमा सरकारविरुद्ध सडकमा उत्रिन आह्वान गरेका थिए । रास्वपा नेताहरुले यो आन्दोलन भई अभियानका रुपमा ब्याख्या गरिरहेका छन् । 

हरेक दिन विभिन्न ठाउँमा प्रदर्शन र कोणसभा गर्दै आएको रास्वपाले मङ्गलबार पोखराको जिरो किलोमिटरमा भेला भई प्रदर्शन गर्दै नगर परिक्रमा गरी कोणसभा गर्ने जनाएको छ । 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update