News 24 Television
हार्मोनियमबाटै चर्चित विमलको सफलताको यस्तो यात्रा !  

काठमाडाैँ । ईश्वरपुर नगरपालिका– १३, श्रीनगर, सर्लाहीका विमल साह २०६२ सालमा एसएलसी सकाएर उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आए । आरआर क्याम्पसमा पढ्दै गर्दा उनी असनस्थित हरेराम, रूपनारायण भिनाजुको हार्मोनियम पसलमा काम गर्थे । भिनाजुको पसलमा हार्मोनियमको ट्युनिङ गर्न नाम चलेका संगितकार, गायक, गायिका आउँदा उनलाई अनौठो लाग्थ्यो । उनी आफैलाई प्रश्न गर्थे ‘हार्मोनियम प्रति किन यति गहिरो लगाव ?’ तर, उनलाई लाग्यो हार्मोनियम विश्वले चिन्नुपर्छ । त्यसपछि उनी स्पेसल कोर्स गर्न कलकत्ता हानिए । नेपाल फर्किएपछि अन्ततः आफ्नो छुट्टै पसल खोले । विमललाई हार्मोनियमको डाक्टर भनेर पनि चिनिन्छ । नयाँ तथा पुराना बाजाहरुको बिक्री समेत गर्दै आएका उनले काठमाडौँ सिनामंगल, ताराहल चोकस्थित ‘श्री पशुपतिनाथ हार्मोनियम मर्मत तथा बिक्री केन्द्र’ सञ्चालन गरेका छन् । उनी वल्र्ड बुक अफ रेक्डर्स, लन्डनद्धारा हार्मोनियमको डिजिटल ट्युनिङ गर्ने संसारकै पहिलो व्यक्तिको रुपमा सम्मानित पनि भएका छन् । उनले त्यो सम्मानपछि जिम्मेवरबोध महशुस गरेका छन् । 

मान्छेले व्यवसायिक सफलता हासिल गर्न धेरै कुराको पछि दगुर्नु पर्दैन, एउटै विषयमा विशिष्टता हासिल गर्न सक्यो भने जीवनमा अवसरका प्रशस्तै ढोकाहरु खुल्छन् भन्ने एउटा ज्वलन्त उदाहरणको पात्र बनेका छन्, साह । २०७३ सालमा ३० हजार लगानीमा ‘पशुपतिनाथ हार्माेनियम मर्मत तथा बिक्री केन्द्र’ सुरु गर्दा उनलाई पत्याउने कम थिए । तर, अहिले उनीसँँग हार्मोनियम बनाउनुपर्दा कम्तीमा पनि एक महिना पालो कुर्नुपर्छ । उनको ३ वटा त हार्माेनियमको गोदाम छ । जसमा सबै प्रकारका हार्माेनियम, त्यो पनि उनकै नामको ब्राण्डबाट बिक्री हुन्छ । उनले आफ्नै नामबाट हार्मोनियम ब्राण्ड बनाएका छन् । विमल हार्मोनियमको अलावा उनले विमल तबला, विमल गितार र विमल मादल गरेर ४ ब्राण्ड दर्ता गरेर राखेका छन् । भविष्यमा यसको व्यवसाय गर्ने उनको योजना छ ।

करिब २ दशकदेखि हार्मोनियम ट्युनिङ गरेका विमलको नजरमा संगीत सुन्दर फुल हो जसमा हार्मोनियमले सुग्न्ध भर्छ । संगीत मनोरञ्जन मात्रै नभई जीवको साधनाका रुपमा उनी व्याख्या गर्छन् । व्यक्तिको मनलाई शान्त बनाउने, तनाव हटाउने र आनन्द प्राप्त गर्न संगीतले महत्त्वपूर्ण भूमिका खेल्छ । विश्व नै शान्त र संगीतमय हुनुपर्नेमा उनी विश्वास गर्छन् । पैसा मात्रै कमाउन चहान्थे भने उनी सजिलै विदेश पलायन हुन सक्थे । तर, उनको हार्मोनियम प्रतिको लगावले कहिल्यै विमुख भएनन् । उनीसँग थुप्रै राष्ट्रिय अन्तराष्ट्रिय संगीतकार, गायक, गायिकको हार्मोनियम ट्युनिङ गरेको छ । अमेरीका, बेलायत, भारत र नेपालमा पनि उनले थुप्रै  सम्मान थापेका छन् । तर, हार्मोनियमसँगको हार्मोनिक सम्बन्ध उनले जीतेका सबै भन्दा ठूलो अर्वड मान्छन् । 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update