News 24 Television
७५ प्रतिशत एमाले मैले निर्माण गरेको हुँ, बुद्धि कमजोर भएर पाखा लागेँ : वामदेव गौतम

काठमाडाैँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा(एमाले)को ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरेका छन् । हाल एमालेमा नरहेका उनले बुद्धि कमजाेर भएकै कारण आफू एमालेबाट पाखा लाग्नुपरेकाे बताएका छन् । 

सोमवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक, मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले एमालेको ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरेका हुन् । उनले आफ्नो बुद्धि कमजोर भएका कारण अहिले एमालेबाट बाहिर बस्नुपरेको बताए ।

विगतमा चितवनस्थित नारायणघाटमा पहिरो गएपछि दुई महिनासम्म काठमाडौं जोड्ने स्थलमार्ग बन्द गर्न आफूले आग्रह गरेको भए पनि सरकारले नसुनेका कारण पछिल्लो विपदमा क्षति भोग्नुपरेको समेत उनले बताए । आफूले अध्ययन गरेर पुनः विपद् आउँदैछ भनेर राष्ट्रिय सभा बैठकमै सरकारलाई सजग गराएको भए पनि कुरा नसुनिएको उनकाे भनाइ छ ।

उनले भने– ‘मैले अध्ययन गरेर भनेको छु । मैले त्यसबेला फेरि अर्को जाँदैछ भनेर भनेको मैले अध्ययन गरेँ बारम्बार । मैले नेपालको भौगर्भिक अवस्थाको सम्बन्धमा चुनौती दिन्छु, मैले अध्ययन गरेको छु । संसारको सबभन्दा कान्छो जमिन, कान्छो पहाड यो भन्दा कान्छो कुनै प्राकृतिक संरचना छैन । थोरै मात्रै भूकम्प गयो भने प्रलय हुन्छ । धेरै ठूलो नोक्शान हुन्छ । यो सबै जानेर बुझेर कमसेकम ७६ वर्षको मान्छे, कम्युनिस्ट आन्दोलनमा समय बिताएको छ, स्कुल, कलेज पढ्न पाइएन । पढिएन । तर बाहिर बसेर नपढिकन यत्रो ठुलो देशव्यापी पार्टी निर्माण गर्न सक्थ्यो ? नेकपा(एमाले) आजपनि मैले निर्माण गरेको ७५ प्रतिशत छ । ७५ प्रतिशत ठाउँमा मैले पार्टी निर्माण गरेको हो । मेरै बुद्धि अलि कमजोर भयो त्यसो भएर बाहिर बसियो । मेरो ज्ञान, अनुभवले मैले बोलिरहेको हुन्छु । म सिद्धान्त भन्दा बाहिर बोल्दिन । मैले राष्ट्रिय सभामा अनुरोध गरे किन त्यहाँ ध्यान दिनु भएन ? पछिल्लो पटक भएको नोक्सानी राष्ट्रिय सभामा एकजना सम्बन्धित व्यक्तिले म राष्ट्रिय सभा सदस्यले भनेको विषय सुन्नुपथ्र्यो कि पर्दैन थियो ? यो हुनसक्छ भनेर विचार गर्नुपथ्र्यो कि पर्दैन थियो ? बोलेर भएन । लेखेर दिए । म भन्न चाहन्छु फेरि भन्नु नपरोस्, नेपाल सबभन्दा पहिले अध्ययन गर्नुस् । मन्त्रीज्यु प्रधानमन्त्रीलाई भन्नुस्, तपाईंकै प्रिय कामरेड अहिले प्रधानमन्त्री हुनुहुन्छ तपाईले भनेको सुन्नुहुन्छ । मैले भनेको सुन्नुहुन्न ।’

राष्ट्रिय सभा सदस्य गौतमले सहकारीको रकम भ्रष्टाचार गर्नेहरुलाई निर्मम तरिकाले कारबाही गर्नुपर्ने समेत बताएका छन्। उनले सहकारीको रकम दुरुपयोग भइरहेकाले अब सहकारीहरुलाई नै बन्द गर्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update