News 24 Television
ट्रायल पास गर्ने बित्तिकै नागरिक एपबाट सवारी चलाउन पाइने 

काठमाडौँ । सरकारले ड्राइभिङ लाइसेन्स कार्ड बोक्नु नपर्ने बनाएको छ । सवारी चालकहरुले अब नागरिक एपमा उपलब्ध कार्डलाई प्रयोग गरेर सवारीसाधन चलाउन सकिने भएको छ । 

आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजालमा ट्रायल पास गरेका ब्यक्तिको लाइसेन्स नागरिक एपमा उपलब्ध हुने भन्दै अबदेखि कार्ड आवश्यक नपर्ने ब्यवस्था गरिएको जानकारी दिएका हुन् । नागरिक एपमा क्यूआर कोडसहितको कार्ड उपलब्ध हुने छ । यदि सवारी नियम उल्लंघन गरेको खण्डमा पनि नागरिक एपमा उपलब्ध कार्ड देखाउन सकिन्छ । 

त्यस्तै कुनै कसुरमा कारबाही परे चीट काट्नासाथ डिजिटल भुक्तानी गर्ने ब्यवस्था पनि उपलब्ध हुने जनाइएको छ । अबदेखि कारबाहीमा परेका सवारी चालकहरुले डिजिटल भुक्तानीबाटै जरिवाना तिर्न सक्ने भएपछि लामो लाइन बस्नु पर्ने झण्झटबाट छुट्कारा पाएका छन् । सरकारको यस्तो निर्णयले भरखरै ट्रायल पास गरेका चालकहरुलाई निकै राहत हुने भएको छ । 

यातायात व्यवस्था विभागले लामो समयदेखि ट्रायल पास गरेका लाखौँ सवारी चालकहरुको लाइसेन्स कार्ड दिन सकिरहेको थिएन । प्रिन्टिङ लगायतका अनेक समस्याका कारण लाइसेन्स नपाएका चालहरुले राजश्व तिरेको रसिदको भरमा सवारी चलाउँदै आएका थिए । यसरी लामो समय रसिदकै भरमा सवारी चलाउदा रसिद बिग्रने, नाम र नंवर समेत नचिनिने अवस्थामा पुग्दा प्रहरीलाई चेकिङमा समेत समस्या हुँदै आएको छ । 

त्यस्तै जरिवानाको राजश्व तिर्न पनि निकै झन्झटिलो भएको भन्दै त्यसको अन्यको लागि आइतवारदेखि बागमती प्रदेश यातायात ब्यवस्था कार्यालयबाट डिजिटल भुक्तानी सुविधा परिक्षण गर्न लागिएको हो । 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update