News 24 Television
बुटवल–नारायणगढ सडकमा सास्ती, नेताका अनेक रमिता !

रुपन्देही । ६ वर्षदेखि बुटवल–नारायणगढ सडक विस्तारको काम चलेकाले सवारी तथा ढुवानीका साधनलाई असहज भइरहेको छ । खाल्टाखुल्टीका समस्या त छँदै छन्, त्यसमाथि पानी पर्दा हिलाम्मे र सुक्खामा धुलोको हैरानी खेप्नुपर्छ । यस सडकमा यात्रा गर्ने यात्रुहरु मात्रै नभई सवारी चलाउने सवारी चालक तथा व्यवसायीहरुले झनै समस्या भोगिरहेका छन्  । 

वि.स. २०७५ सालमा बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको शिलान्यास भएको थियो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले बुटवलदेखि नारायणगढसम्मको ११३ किलोमिटर सडक २०७९ साउनमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सम्झौताका व्रmममा ठेकदार कम्पनीले तेस्रो पटक म्याद थप गरिसकेको छ । पछिल्लो म्याद अनुसार २०८२ साउन ६ गतेसम्म आयोजना सम्पन्न गर्नुपर्ने छ । तर असारदेखि निर्माणको काम रोकिएको छ । लामो समयसम्म निर्माण सम्पन्न नहुँदा बुटवल–नारायणगढ सडक भएर यात्रा गर्ने यात्रुले सास्ती भोगि रहेका छन । बर्खाको समय र रकम अभाव देखाउँदै निर्माण कम्पनीले काम रोकेको बुटवल–नारायणगढ चार लेन सडक आयोजनाको पश्चिम खण्ड कार्यालय, बर्दघाटले जनाएको छ । यस आयोजनाको अहिलेसम्म जम्मा ५२.५ प्रतिशत मात्र काम भएको छ । 

विगतमा बुटवलबाट बर्दघाट पुग्न ४५ मिनेट लाग्ने गरेको भए पनि अहिले दुई घण्टा लाग्ने गरेको सवारी चालकहरुको अनुभव छ । यस्तै, बुटवल–नारायणगढ छिचोल्न करिब तीन घण्टा लाग्थ्यो, अहिले ५ देखि ८ घण्टासम्म लाग्छ । 

यस सडक खण्डको दाउन्ने खण्डमा हुने जामले यात्राको समयको टुंगो नै हुन छाडेको छ । निर्माणधिन सडकमा पहिरो जाने , सडक भासिने , ठुला सवारी साधन विग्रने हुँदा यात्रुहरुले निकै सास्ती व्यहोर्न बाध्य बनेका छन् । सडकबाट धुलो उड्ने हुँदा यात्रुदेखि स्थानीयलाई रुघा लाग्ने, आँखा पाक्नेजस्ता समस्या देखिएका छन् ।  

लथालिङ्ग सडक र धुलोका कारण पछिल्लो समय स्थानिय होटलहरुमा खाना तथा खाजाका लागि बस रोकिनै छाडेको स्थानिय व्यवसायीहरुको गुनासो छ । 
 
निर्माणाधीन सडककै कारण दैनिक जीवन कष्टकर भएपछि छिटो काम सम्पन्न गर्नुपर्ने माग स्थानीयले मात्रै होइन, बेला बेला नेताले समेत गर्दै आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गत वर्षको पुसमा निर्माण छिटो सम्पन्न गराउनका लागि दबाबस्वरूप नारायणगढ–बुटवलको पैदलयात्रा गरेका थिए । यो सँगै यस सडकखण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्न सम्बन्धित मन्त्रीहरूको निर्देशन बेला–बेला आउने गरेकै छ ।  स्थानियहरु भने नेताहरुले चर्चा कमाउनका लागि यस विषयमा बोल्ने तर समस्या जस्ताको त्यस्तै रहेको बताउछन् । 
 
सडकको खराबीका कारण सवारी टुटफुट हुने र टायर पन्चर हुँदा सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै बढी छ ।  
 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update