News 24 Television
पोखरामा रास्वपाको शक्ति प्रदर्शन, सरकारको यस्तो योजना !

काठमाडौँ । सहकारी ठगीको आरोपमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको पक्षमा यतिबेला पोखरामा पार्टीका कार्यकर्ता तथा समर्थकहरुले प्रदर्शन गरिरहेका छन् । यो प्रदर्शनले रविविरुद्धको अनुसन्धान र सरकारी पक्षको दाबीले राजनीतिक स्थिति नै खलबलिन पुगेको छ । तर, रविको पक्षमा पोखरामा देखिएको आन्दोलन र प्रहरीसँगको घम्साघम्सीले राम्रो संकेत गरेको छैन । यसले विधिको शासन स्थापित गर्नमा चुनौति र अराजक शैलीको विकास गर्ने सम्भावना देखिएको छ ।

सहकारी ठगी, संगठित अपराध लगायत मुद्दामा अनुसन्धान गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पार्टी केन्द्रीय कार्यालयबाटै गएको शुक्रबार पक्राउ गर्यो । रविमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद समेत प्रहरीले लिइसकेको छ । यता, आफ्ना पार्टी सभापति हिरासतमा राखिएको भन्दै रास्वपाले पोखरा केन्द्रित आन्दोलन जारी राखेको छ । रास्वपाले हरेक जिल्लाबाट कम्तिमा पनि सय जना उपस्थित हुने गरि सर्कुलर नै जारी गरेको छ भने पोखरामा नेताहरुले कार्यकर्ता र समर्थकको भीड उचालेर सरकारमाथि दबाब बढाइरहेका छन् । यस्तोमा रवि आफैले पनि प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा भ्रष्ट नेता भन्दै सरकार नढलुन्जेल सडकमै रहन अपिल गरेका छन् । 

रास्वपाले सबै बल लगाएर सरकारविरुद्ध पोखरामा गरिरहेको प्रदर्शनले प्रहरीलाई निष्पक्ष अनुसन्धानमा भने असर पारिरहेको छ । अनुसन्धानमा सघाउने र अराजत शैली नअपनाउने भन्दै आएको रास्वपाले दबाबमूलक जवाफ दिइरहेको छ ।

सरकारमाथि दबाब सिर्जना गरिरहेको रास्वपालाई भने सरकारले थप सशक्त बन्ने संकेत गरेको छ । रविलाई हिरासतमा राख्न म्याद थप गरेकै दिन आइतबार सरकारका प्रवक्ताले  संसदीय विशेष छानविन समितिको प्रतिवेदन कार्यान्वयनमा गएको र पूर्ण कार्यान्वयन हुने भनेका छन् । 

सरकारले यस्तो जिकिर गर्दै गर्दा गृहमन्त्री रमेश लेखकले पनि प्रहरीमाथि पोखरामा भएको प्रतिरोधलाई रोक्नुपर्ने बताएका छन् । कूटनीतिक ढंगले पेश भएका गृहमन्त्री लेखकले अनुसन्धानलाई सघाउनुपर्नेमा जोड दिएका छन् । 

सत्ता पक्ष दलले प्रतिवेदन कार्यान्वयनमा गएको जिकिर गरेपनि प्रतिपक्षी र केहि साना सत्तारुढ दलहरुले भने प्रतिशोध साँधिएको दाबी गरिरहेका छन् । उनीहरुले सरकारले रविमाथि प्रतिशोध साँधेको आरोप लगाउदै आएका छन् भने कांग्रेस, एमालेभित्र रहेका सहकारी ठगीमा मुछिएका नेताहरुलाई समेत कारबाही गरेर देखाउन चुनौति समेत दिन थालेका छन् । तर, सरकारले भने सहकारी ठगी गर्नेमाथिको कारबाही शुरु भएको र परिणाम आउने दाबी गर्न थालेको छ ।

रास्वपाको प्रतिरोध किन ?

पार्टी सभापति पक्राउ परेपछि रास्वपाले पोखरा केन्द्रीय प्रदर्शनलाई तीव्र बनाएको छ । रास्वपाले पोखरामा गरिरहेको प्रतिरोध किन र के का लागि भन्ने प्रश्नको जवाफ हो, रविको रिहाई । रविमाथि अदालतले अनुमति दिएर अनुसन्धानको बाटो खुलाइसकेपछि रास्वपाले अन्य सहकारी ठगीका प्रकरणलाई सतहमा ल्याउनुको सट्टा प्रतिशोधको विषय झिकेर आन्दोलन गर्दै गर्दा कतै यहि विषयले रास्वपाको राजनीतिक मुद्दा कमजोर बन्ने त होइन भन्ने आशंका समेत उब्जिन थालेका छन् । उसोतः रवि पनि आफ्नो पक्राउ पछि सरकारप्रति आक्रोशित बनिरहेका छन् । 

पोखरामा दिनभरजस्तो प्रहरीसँग तानातान नै  चल्यो । प्रहरीले पानीको पोहोरा र अश्रुग्यास समेत हानेको अवस्थामा रास्वपाले अब आन्दोलनलाई कसरी अघि बढाउला भन्ने निर्णयले नै थप थाहा हुनेछ । 


 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update