News 24 Television
तातोपानी नाकामा बिजोग, बाटैभरि यस्ता दृश्य !

सिन्धुपाल्चोक । सडकको नाजुक अवस्थाका कारण नेपाल–चीन सीमा क्षेत्र तातोपानी नाका लामो समयदेखि प्रभावित नै छ । काठमाडौंबाट नजिक रहेको चीनसँगको अन्तर्राष्ट्रिय उत्तरी तातोपानी नाकामा सडककै कारण सास्ति हुँदा राज्यले अर्बौँ राजश्व गुमाउनु परेको छ । 

नेपाल र चीनबीचको व्यापारिक उत्तरी नाका तातोपानी काठमाडौँबाट केवल १ सय १४ किलोमिटरको दुरीमा छ । तरपनि, यो नाका प्राय कहिलेई सामान्य रुपमा सञ्चालनमा ल्याउन सकेको देखिदैन । भोटेकोशी नदिमा आउने बाढीले गर्ने कटान, यस क्षेत्रमा आउने पहिरो साथै बीचबीचमा रहेका ठाडो खोलाले सडक र बेलिब्रिज बगाउँदा सीमा क्षेत्र तातोपानीदेखि बाह्रविसेसम्मको २४ किलोमिटर सडक वर्षेनी ध्वस्त बन्ने गर्छ । यसैको मारमा पर्छ तातोपानी नाका । तातोपानी नाका क्षेत्रको कोदारी सडकको यो दुर्दशाका कारण सवारी साधन विग्रनेदेखि समयमा सामान पुर्याउन नसक्दा लागत पनि उत्तिकै बढ्ने गरेकाले आजित छन् व्यापारीहरु । 

यो वर्ष मात्र असोज ११ र १२ गतेको अविरल वर्षापछिको वाढी पहिरोले लार्चा र खागदलको बेलिब्रिज, लिपिङमा रहेको पक्की पुल बगायो । ड्राईपोर्ट देखि सिमा क्षेत्र सम्मको ५ किलोमिटर सडक ध्वस्त भएको छ ।  दसैँ अगावै तातोपानी सीमामा ल्याइसकिएको स्याउलगायतका कुहिने वस्तु भरियाले दुई पटक बोकेर र गाडीमा दुई पटक लोड अनलोड गरेपछि लार्चा सुख्खा बन्दरगाह पुगेका हुन् ।  लत्ता कपडा लगायत इलेक्ट्रोनिक सामान बोकेका कन्टेनर ३ सातादेखि बाटोमानै रोकिएर बसेका छन् । भोटेकोशी गाँउपालिकाको समन्वयमा लिपिङका २ घर भत्काएर बीचबाट ह्युम पाइप राख्ने र कोदारी पहिरो पन्छाएर तत्काल  रोकिएको सामान बन्दरगाह सम्म पुर्याउने प्रयास थालिएको छ । ध्वस्त सडकलाई दीर्घकालीन रुपमा कसरी निर्माण गर्ने भन्नेबारे सरकारले विस्तृत योजना बनाउनु पर्ने स्थानीय बताउछन् ।   

भूकम्पपछि लगातार चार वर्ष पूर्ण रुपमा बन्द भएको तातोपानी नाकाबाट हुने व्यापार दुई वर्ष यताबाट बढ्दै गएको थियो । असोज देखि पुषसम्म तातोपानी नाका हुँदै चीनबाट बढी सामान आयात हुने सिजन हो । २२ अर्ब भन्दा वढी राजश्व उठाउने लक्ष्य तातोपानी भन्सार कार्यालयलाई  दिइएको छ । कुनैबेला ५ खर्ब रुपैयाँ राजस्व संकलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याएको तातोपानी भन्सारले अहिले बाटोकै कारण लक्ष्य अनुसार राजश्व संकलन गर्न सकिरहेको छैन ।   

भन्सारलाई सहज रुपमा संचालन गर्ने महत्वपुर्ण आधार मध्य एक हो, यातायात । दरिलो, विश्वासिलो र भरपर्दो बाटो भएमा पैठारी भएका मालबस्तु कम लागतमा सजिलैसँग समयमा गन्तब्यमा पुग्न सक्छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले  जुरे बाह्रबिसे कोदारी खण्डको स्तरोन्नतिका लागि  १ अर्ब २३ करोड बराबरको रकम विनियोजन गरिएको छ ।   तर  बाढी, ठूला भूस्खलनको कारण ध्वस्त सडकलाई दीर्घकालीन रुपमा कसरी निर्माण गर्ने भन्नेबारे सरकारी तवरबाट हालसम्म कुनै अध्ययन भएको देखिदैन । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update