News 24 Television
काँग्रेस–एमालेले आफ्ना कर्तुत लुकाउन रविलाई बनाए बलिको बोको 

काठमाडौँ । राष्ट्रिय राजनीति प्रतिशोधको मझधारबाट चलिरहेको कुरा पछिल्ला घटनाक्रमहरुले एकपछि अर्को पुष्टि गर्दै गइरहेको छ । शुक्रबार रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सहरकारी प्रकरणमा पक्राउ परेसँगै प्रतिशोधको राजनीतिले नयाँ मोड लिएको छ । रवि पक्राउपछि सरकार र रास्वपाका नेता–कार्यकर्ताबीच तनाव समेत बढेको छ । रास्वपा नेताहरुले सरकारले राजनीतिक प्रतिशोधका रुपमा आफ्ना सभापति विरुद्ध झुटो मुद्दा लगाएर फसाउन खोजेको बताएका छन् । काँग्रेस–एमाले सम्मिलित सरकारले अघिल्लो सरकारमा रवि गृहमन्त्री हुँदाको प्रतिशोध साँधिरहेको उनीहरुको आरोप छ । विशेषगरी काँग्रेसको बलजफ्तीका कारण रविलाई फसाउनकै लागि व्यक्तिकेन्द्रित संसदीय समिति गठन गरिएको थियो । समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा पनि रवि र विगतमा उनी जोडिएको गोर्खा मिडिया नेटवर्कलाई नै तारो बनाइएको छ । यसबाट काँग्रेस र एमालेको सरकारले सहकारी पीडितहरुलाई न्याय दिने मनसायले नभएर वैकल्पिक राजनीतिज्ञका रुपमा उदाएका रवि र उनको पार्टीलाई सिध्याउने खेल खेलिरहेको बुझ्न गाह्रो छैन ।

सभापति पक्राउ परेपछि रास्वपाका नेता–कार्यकर्ता पोखरामा भेला भएका छन् । उनीहरुले शनिबार विरोध प्रदर्शन गरे भने आइतबार पनि निषेधाज्ञा तोडेर प्रदर्शन जारी राखे । यसै सन्दर्भमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले शनिबार संगठित अपराधीहरु अहिलेको मन्त्रिपरिषद्मा नै रहेको आरोप लगाए । उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्नेजस्तो राष्ट्रघाती संगठित अपराधमा संलग्नहरुले नै अहिले सरकार चलाइरहेको बताए । त्यस्ता ठूला अपराधबाट जनताको ध्यान मोड्न र काँग्रेस–एमालेका कर्तुत ढाकछोप गर्न रविलाई पक्राउ गरिएको उनको आरोप छ । वाग्लेले काँग्रेस महामन्त्री गगन थापाप्रति लक्षित गर्दै आफ्नो राजनीति जोगाउन रविलाई पक्राउ गर्न लगाएको आरोप समेत लगाए । रविविरुद्ध संसदीय छानबिन समिति माग गर्दैै महिनादिनसम्म संसद अवरोध गर्नमा गगन थापाकै मुख्य भूमिका थियो । विभिन्न सहकारीहरुबाट हिनमिना भएको ८७ अर्ब भ्याउन, काँग्रेस नेता धनराज गुरुङ नै सहकारी ठगीमा रहेको तथ्य लुकाउन, प्रधानमन्त्री केपी ओली नै जोडिएको गिरिबन्धु टी–स्टेट र परराष्ट्रमन्त्री आरजू राणा जोडिएको भुटानी शरणार्थीजस्ता ठूला काण्डका फाइल लुकाउनलाई रविविरुद्ध अहिले प्रतिशोध साँधिएको वाग्लेको भनाइ छ । 

स्मरणीय तथ्य के छ भने अघिल्लो सरकारमा रवि गृहमन्त्री हुँदा विशेषगरी काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजूलाई टीकापुर जग्गा काण्ड र भुटानी शरणार्थी काण्डमा तान्न खोजेका थिए । आरजु लगायत काँग्रेस–एमालेका ठूला नेता जोडिएका फाइल खोल्ने रविको तयारी थाहा पाएपछि रातारात देउवा र एमाले अध्यक्ष ओलीले नयाँ सरकार बनाउने सहमति गरे । त्यसपछि तत्कालीन प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै रवि प्रतिपक्षमा पुगे । साना दलहरुलाई समाप्त पारेर दुई दलीय प्रणालीमा जान खोजेका काँगेस–एमालेको स्वार्थ मिलेपछि संविधान संशोधन, निर्वाचन प्रणालीमा हेरफेर तथा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनेजस्ता कुरामा सहमत देखिन्छन् । 

शनिबार पोखरामै विरोध कार्यक्रममा बोल्दै रास्वपाकी सांसद डा. तोषिमा कार्कीले सहकारी छानबिन प्रकरणमा रवि लामिछानेमाथि कुनै प्रमाण फेला नपरे पनि पक्राउ गरिएको भन्दै आपत्ति जनाइन् । उनले छानबिनका लागि आफूहरु सघाउन तयार भएको बताउँदै उनले सभापति लामिछानेले न्याय पाउने आशा व्यक्त गरिन् । उनले सम्पूर्ण सहकारी पीडितहरुको रकम फिर्ता गराएर न्याय दिलाउने हिम्मत छ ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरिन् ।

रास्वपा सभापति लामिछानेलाई शुक्रवार पार्टी केन्द्रिय कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो । रास्वपाका नेता÷कार्यकर्ताहरुले सभापति पक्राउ गरेकोमा आपत्ति जनाउँदै विभिन्न जिल्लाबाट विरोध प्रदर्शन जारी राखेका छन् । लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुने बताइएको छ । यसैका लागि उनलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रवन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ । 

जिल्ला अदालत परिसरमा संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले अदालतप्रति आफ्नो विश्वास रहेको बताएका छन् । सरकारले आफूलाई फसाउन खोजेको तर अदालतले न्याय दिन्छ भन्नेमा एकदमै धेरै विश्वास रहेको उनले बताए । साथै केपी ओली नेतृत्वको सरकार रहिरहने हो भने जनताले थप दुःख पाउने समेत उनले बताए । काँग्रेस–एमाले सम्मिलित सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम भइरहने उनको भनाइ छ । 

ठूला भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको भन्दै लामिछानेले सरकारविरुद्ध देशभरिबाट नै आफ्ना कार्यकर्तालाई सडकमा उत्रिन आह्वान पनि गरेका छन् ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update