News 24 Television
पर्यटन प्रवर्द्धनमा संघ–संस्था सक्रियता, मन तान्ने नयाँ प्रयास !

काठमाडौँ । पछिल्ला वर्षहरूमा नेपालमा पर्यटनको अवस्था मिश्रित छ । हिमाल, पहाड, र तराई क्षेत्रका प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र साहसिक खेलहरूको लागि नेपाल विश्वभर प्रसिद्ध गन्तव्य हो । तर, राजनीतिक अस्थिरताको प्रभावले पर्यटन क्षेत्रमा गिरावट आउने गरेको   छ । सरकारले पर्यटन प्रर्वद्धनलाई नारामा मात्रै सीमित गर्दा सोचे अनुसारको पर्यटकको संख्या वृद्धि भएको छैन । त्यसमा पनि सांस्कृतिक पर्यटनमा खासै जोड दिइएको पाइँदैन् । 

नेपालमा पर्यटन सम्भावनाका महत्त्वपूर्ण क्षेत्रहरूमध्ये एक सांस्कृतिक विविधता रहेपनि विश्वभरका पर्यटकहरू भने नेपालको प्राकृतिक सौन्दर्य हेर्नका लागि मात्रै आई रहेका छन् । किनभने नेपालको प्राकृतिक विविधताका जानकार विदेशी पर्यटकहरू नेपालको सांस्कृतिक विविधताका बारेमा भने अनभिज्ञ छन् । ‘काठमाडौं दरबार स्क्वायर टुरिजम प्रमोशन एसोसिएसन’ले ‘पर्यटन र शान्ति’को नारासहित नेपालका प्राकृतिक विविधतासँगै पृथक् मानवीय चालचलन, संस्कार, भाषा, भेषभुषा, संस्कृतिलाई उजागर गरेको छ । पर्यटन प्रर्वद्धनमा संस्कृतिलाई पनि जोड्न सकेमा पर्यटन क्षेत्रलाई दीर्घकालीन रूपमा दिगो र समृद्ध बनाउन सकिने एसोसिएसनको दाबी छ । 

नेपालका ऐतिहासिक दरबार, मठ–मन्दिर, स्तूप, र पुरातात्त्विक स्थलहरू सांस्कृतिक सम्पदाका अमूल्य धरोहर हुन् । जसले पर्यटकहरूलाई नेपाली सभ्यता, परम्परा, र इतिहासको झलक दिन्छन् । सम्पदाहरूले धार्मिक र सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बलियो बनाउन सहयोग पु¥याएका छन् । सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गरी थप पर्यटक आकर्षित गर्न सकिने मात्र नभई स्थानीय समुदायको जीविकोपार्जनमा पनि महत्त्वपूर्ण योगदान दिन सक्छ । पर्यटकहरूले यहाँको वास्तुकला, कला, संगीत, नृत्य, र परम्परागत जीवनशैलीको अवलोकन गर्दै नेपालको सांस्कृतिक विविधताको मज्जा लिन सक्छन् । तर, सांस्कृतिक सम्पदाको संरक्षण र दिगो पर्यटनको सुनिश्चितता गर्न उचित व्यवस्थापन र स्थानीय समुदायको सहभागिता आवश्यक छ ।

प्राकृतिक सौन्दर्यतासँगै सांस्कृतिक विविधताले नेपाललाई पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने क्रममा सुनमा सुगन्ध थप्ने निश्चित छ । संसारकै उच्च शिखर सगरमाथादेखि पहाड, तराईका हरियाली मैदानसम्मको प्राकृतिक सौन्दर्यले पर्यटकहरूलाई लोभ्याउँछ । नेपालमा अथाह पर्यटकीय सम्भावनाका स्रोत छन् । पर्यटन क्षेत्रलाई मात्रै विश्वमाझ प्रवर्द्धन गर्दै आवश्यक पर्यटकीय पूर्वाधार विकास गर्दा समृद्धिको ढोका सहजै खुल्नेछ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update