News 24 Television
प्रचण्डको एकता कार्ड : विप्लवसहित को–को आउलान् ?

काठमाडाैँ । शक्ति क्षयीकरणपछि माओवादी घटकहरु मिल्नुपर्नेमा जोड दिन थालिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वसहकर्मीहरुलाई छिट्टै एकतामा ल्याउने र माओवादी आन्दोलनको रक्षासहित समाजवादमा पुग्ने जिकिर गरिरहेका छन् । तर, के पूर्वमाओवादीहरुको एकता सम्भव छ ?

माओवादी घटकहरु चरणबद्ध टुटफुटपछि विभिन्न चिरामा विभक्त छन् । एकताभन्दा फुटमै रमाएका उनीहरुले खास राजनीतिक गतिविधि अघि सार्न नसकेपनि पार्टी भने चलाइरहेका छन् । तर, माओवादीहरु कमजोर बन्न थालेपछि एकता गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ । प्रचण्ड आफ्नै पार्टीभित्र जोखिममा छन् । पार्टीमा शीर्ष तहमा रहेका नेताहरुले उठाएका प्रश्नको सामना गरिरहेका प्रचण्डले अन्य माओवादी घटकलाई पनि ल्याएर पार्टी सत्ता लम्ब्याउन खोजेपनि त्यो तत्काल सम्भव होला ? शंका र प्रश्न छ । तर, चितवनमा प्रचण्डदेखि नेकपामा महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले एकतामा जोड दिए । 

दुई नेताहरुले पार्टी एकता गरेर २०६४ कै स्थितिमा पुग्ने अठोट गरिरहेको बेला माओवादी केन्द्रमा प्रचण्डविरुद्ध आवाज उठाइरहेका उपमहासचिव जनार्दन शर्माले पनि प्रचण्डलाई ठूलो छाति बनाएर समाजवादी क्रान्ति सम्पन्न गर्न एकताको ढोकालाई लचकताका साथ अघि बढाउनुपर्ने प्रस्ताव गरे । 

यसरी माओवादी घटकमध्ये प्रचण्ड र विप्लवले एकताको रटान लगाउन थालेपनि तत्काल एकता हुनेमा भने शंका छ  । तर, माओवादी केन्द्रसँग एकताका लागि राजी बनेपछि विच्किएका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई आलोचनामै उत्रिने गरेका छन् । प्रचण्ड स्वार्थी नेता भएको भन्दै खोला तर्ने लठ्ठी बिर्सिने नेताको रुपमा चित्रित गरिरहेका छन् । 

यसरी माओवादी घटकमा मोहन वैद्य ’किरण’, विश्वभक्त दुलाल ’आहुती’, गोपाल किराति लगायतका नेताहरुले आ–आफ्नै दल खोलेर राजनीति गरिरहेका छन । तर, संसदीय राजनीतिमा प्रचण्डबाहेकको खास प्रभाव भने देखिन्न ।

होला माओवादी घटकको एकता ?

माओवादी घटक दलहरुमा बाबुराम भट्टराई नेतृत्वबाट विद्रोह गरेर माओवादी केन्द्रसँग एकताको तयारीमा ठिक्क परेको महिन्द्र राय यादव नेतृत्वको टिम अलपत्र परिरहेको छ भने विप्लवले पार्टी एकताको प्रस्ताव पारित गराएपनि माओवादी केन्द्रले केन्द्रिय समितिबाट निर्णय गर्ने भन्दै एकताका ढोका खुला गरिसकेको देखिन्न । तर, मोहन वैद्य ’किरण’, धर्मेन्द्र बास्तोला, बाबुराम भट्टराई, आहुति र गोपाल किराति लगायतका नेताहरु तत्काल प्रचण्डको नेतृत्वमा आउनसक्ने सम्भावना क्षीण देखिन्छ । उनीहरु प्रचण्डबाट क्रान्ति हुन्न भन्ने आरोप मात्रै लगाइरहेका छैनन्, प्रचण्डलाई दलालसँगको संगतमा परेर बिग्रिएको नेताको रुपमा अर्थ्याउने गर्छन् । यसरी माओवादी घटक सबै एकैठाँउ हुने सम्भावना तत्काल नभएपनि माओवादी आन्दोलन नै रक्षात्मक बनिरहेको बेला सबैले सोच्नुपर्ने बेला आएको भने भनिरहेका छ्न् । 

समाजवादको कार्यक्रम र पार्टी

संविधानले नै समाजवादको विषय उठान गरेकाले समाजवादको ब्याख्यामै विवाद देखिन्छ । कस्तो खाले समाजवादमा जाने  र समाजवादी क्रान्तिको मोडेल कस्तो हुने भन्ने विषयमा विवाद कायमै देखिन्छ । 

यस्तोमा डा. बाबुराम भट्टराई, माधव नेपाल नेतृत्वका पार्टीले समाजवादी क्रान्तिको विषयमा प्रवेश गरिसके पनि माओवादी केन्द्रसहित विप्लव लगायतका दल र नेताहरु अलमलमा छन् । उनीहरुले समाजवादी क्रान्तिको वियषमा बहस गरे पनि पार्टीको औपचारिक विचार, सिद्धान्तको रुपमा स्वीकार गरी नसकेकाले पनि समाजवादबारेको अन्योलता कायम छ । 

ती दलहरु मिल्ने बाटो समेत प्रष्ट हुन सक्ने स्थिति छैन । तर, जनमतको संकट र ठूला दलले देखाउने व्यवहारपछि भने एकीकृत कार्यक्रम बनाएर संगै जाने र मोर्चावन्दीदेखि एकताका विषयमा बहस छलफल भने हुन सक्ने देखिन्छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update