News 24 Television
रास्वपाको पोखरामा प्रदर्शनलाई कमजोर नठान्न चेतावनी

पाेखरा । सहकारी ठगी र संगठित अपराधमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बचाउमा रास्वपाले शनिवार पोखरा र काठमाडौं लगायत विभिन्न ठाउँमा प्रदर्शन गरेको छ । लामिछानेलाई पक्राउ गरी पोखरा लगिएको रास्ववाले पोखरा केन्द्रित प्रदर्शन गरेका छन् । रास्वपाका नेताले राजनैतिक प्रतिशोध साधेको भन्दै आरोप लगाइरहँदा पोखराकै सूर्यदर्शन सहकारीका पीडितहरूले भने आफूले न्याय पाउने ढोका खुलेको बताएका छन् । 

शनिबार दिउँसो पोखराको चिप्लेढुङ्गास्थित मानव अधिकार चोकमा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा रास्वपा कास्कीले विरोधसभा आयोजना गरेको थियो । सहकारी ठगी र संगठित अपराधको आरोपमा लामिछाने पक्राउ भएपनि रास्वपाका कार्यकर्ताहरूले राजनीतिक प्रतिशोध साधेको भन्दै सरकार र सरकारमा सहभागी दल अनि तिनका नेताहरूप्रति आक्रोशित देखिए । विरोधसभामा उपस्थित हुनको लागि काठमाडौँ, चितवन लगायतका जिल्लाबाट नेता कार्यकर्ता पोखरा आएका थिए । पार्टीका केन्द्रीय तहका अधिकांश नेताहरू पनि पोखरामा देखिन्थे । विरोधसभामा सम्बोधन गर्दै पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले सरकारले राजनीतिक प्रतिशोध साधेको भन्दै आफ्नो सम्बोधनको अधिकांश समय नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई गाली गर्न खर्चिएका थिए ।

त्यस्तै विरोधसभामा बोल्दै पार्टी उपसभापति डिपी अर्यालले आफूहरू पाँच जनाको अगाडि गएर समेत सम्बोधन गरेको विगत सुनाउँदै पोखराको उपस्थितिलाई कमजोर नठान्न चेतावनी दिए । आफूहरू सकिने डरले रास्वपालाई सिध्याउन लागेको आरोप लगाउँदै उपसभापति अर्यालले रवि निर्दोष भएर निस्कने र भ्रष्टाचारीलाई तह लगाउने जिकिर गरे ।

यता रवि आउने तथा रास्वपाको कार्यक्रममा कालो झण्डा लिएर पुगिहाल्ने सूर्यदर्शन सहकारी पीडित भने शनिबार शान्तिपूर्ण ढङ्गबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा भेला भएका थिए । विक्रम सम्वत् २०८० माघ २२ गते आफूहरूले दिएको जाहेरीको आधारमा रवि लामिछाने पक्राउ परेको र आफूहरुले अब न्याय पाउने बाटो खुलेको सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठ बताउँछन् । 

शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । प्रहरीले आइतबार बिहान ११ बजे कास्की जिल्ला अदालतमा म्याद थपका लागि लैजाने बताए पनि रास्वपाका नेताहरूले आफ्ना अधिवक्ताहरू आउन समय लाग्ने भन्दै म्याद थपको समय लम्ब्याउन आग्रह गरिरहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update