News 24 Television
सहकारी प्रकरण : रास्वपा र कांग्रेसबीच द्वन्द्व बढ्ने

काठमाडौँ । सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुले सरकारको स्थायित्व र समृद्धिको लागि ठूला दलहरुबीच गठबन्धन बनेको बताइरहेका छन् भने नक्कली भुटानी शरणार्थी प्रकरण लगायत भ्रष्टाचार सम्बन्धी मुद्धाहरुको फाइल खोलिएपछि सरकार ढालिएको माओवादी लगायत विपक्षी दलहरुले बताउँदै आएका छन् । अहिले पुनः सहकारी प्रकरणको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । यो प्रकरणले सत्ता राजनीतिमा कत्तिको प्रभाव पार्छ ? 

संसदको तेस्रो दल भएर पनि तत्कालिन अवस्थामा सरकारको नेतृत्व गर्न पाएर हौसिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको संसदको सिट संख्यालाई जादुमयी नम्बर बताएको केही दिनमा नै सरकारबाट हात धुनु परेको थियो । त्यतिबेला एमालेको समर्थनमा सरकारको नेतृत्व गरेका प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण पुनः ब्यूँताएपछि सत्ता संकट उत्पन्न भई कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेको थियो । नक्कली शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि राजनीतिक समीकरण नै बदलिन पुगेको थियो । सरकारबाट बाहिरिनु परेपछि माओवादी अध्यक्ष प्रचण्डले आफूलाई सत्ताबाट हटाउनुलाई भूराजनीति प्रभाव समेत बताएका थिए । 

यतिबेला फेरी सहकारी ठगी प्रकरणका विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएपछि सहकारी ठगी प्रकरणमा एकले अर्कालाई आक्षेप लगाउने क्रम चुलिएको छ । सत्तारुढ दलकै नेताहरु सहकारी ठगीमा मुछिएको सहकारी अपचलन विशेष संसदीय समिति प्रतिवेदनले स्पष्ट गरे पनि उनीलाई संरक्षण गरिएको विपक्षीहरुले प्रश्न उठाउन थालेका छन् । रवि पक्राउको विरोधमा सडक प्रदर्शनमा उत्रिएको रास्वपा मात्र होइन, प्रमुख विपक्षी दल माओवादी केन्द्रका नेताहरुले पनि रविको पक्राउलाई प्रतिशोधपूर्ण बताउन थालेका छन् । 

तत्कालिन अवस्थामा मेडिकल ब्यवसायी दुर्गा प्रसाईँले आन्दोलन चर्काउँदा सरकारको नेतृत्व गरेको माओवादीसँग भन्दा पनि एमालेसँग झडपकै स्थिति बनेको थियो । अहिले रास्वपा सभापति लामिछाने पक्राउ प्रकरणमा पनि झण्डै झण्डै त्यस्तै अवस्था बनेको छ । एमाले भन्दा कांग्रेससँग रास्वपाको द्वन्द्व बढ्ने देखिएको छ । रास्वपा नेताहरु कांग्रेस उपसभापति धनराज गुरुङदेखि महामन्त्री गगन थापाविरुद्ध चर्को अभिब्यक्ति दिइरहेका छन् । यद्यपि सहकारी ठगीमा मुछिएका संसदको लेखा समिति सभापतिसमेत रहेका एमाले सांसद ऋषिकेश पोखरेलको सरकारले संरक्षण गरेको उनीहरुले आरोप लगाइरहेका छन् । 

लामिछानेको सहकारी ठगीमा प्रत्यक्ष संलग्न नदेखिए पनि सहकारीबाट आएको रकम गोरखा मिडिया नेटवर्कमा अपचलन भएको निश्कर्ष सहकारी अनियमितता सम्बन्धमा गठित समितिको प्रतिवेदनमा उल्लेख गरेको छ । सोही प्रतिवेदनकै आधारमा लामिछानेलाई पक्राउ गरिएको भए पनि सहकारीको रकम अपचलनमा मुछिएका अन्य नेताहरुको विषयमा अनुसन्धान अघि बढ्ने देखिएको छैन । सहकारी प्रकरणको विषयलाई लिएर सत्ता राजनीति प्रभावबारे पनि चर्चा शुरु भएको छ । सत्तारुढ कांग्रेस र विपक्षी दलहरुबीच विवाद बढ्दै जाँदा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता राजनीति लम्बिने आंकलन पनि भइरहेका छन् । 

रवि पक्राउको प्रकरण कसरी अघि बढ्छ, अहिले नै यकिन गर्न सकिने अवस्था छैन तर सहकारी अनियमितता सम्बन्धन गठित संसदीय समितिको प्रतिवेदनअनुसार सहकारी गठीमा संलग्न जोकोहीलाई कारबाही गरी सहकारी समस्या समाधानको उपाय भने खोजिनु जरुरी छ । 


 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update