News 24 Television
राजनीतिक उथलपुथलको संकेत

प्रधानमन्त्री केपी ओली पछिल्लो समय आफ्नो कार्यकालको समयसीमाबारे बोलिरहन्छन् । कुनैबेला आइ लभ यु केपी बा भन्नेहरुको ठूलो भीडले घेरिने ओली पछिल्लो समय जब्बर बन्न खोजेपनि कमजोर बन्दै गएका छन् । ओलीविरुद्ध कसैले बोलेमा मात्रै पनि गालीको वर्षा हुने स्थितिबाट विस्तारै ओली डाउनफलमा झरिरहेका छन् । अझं, पछिल्लो समय दुई तिहाई बढिको नेतृत्व गर्दै सरकारमा गएका ओलीलाई फेरि सत्ता संकट आइलागेको चर्चा चल्न थालेको छ । सत्ता नेतृत्वको तीन महिना नपुग्दै प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसदमा विरोध गर्दै सरकारमाथि खनिए । 

यसपछि आएको बाढी पहिरो लगायतमा पनि सरकारले गतिलो पहल लिनै सकेन । जनस्तरमा दुई तिहाईको सरकारप्रतिको आक्रोश बढिरहेको बेला ओलीले भाटभटेनीका साहु मीनबहादुर गुरुङबाट जग्गा दान लिएर उनैबाट पार्टी कार्यालय स्थापना गराउने एकल निर्णय लिएपछि एमाले रक्षात्मक बन्दै गएको छ । अरु बेला एमाले र ओलीविरुद्ध कसैले केही भनिहाले अरिंगाल जसरी जाइलाग्ने कार्यकर्ताहरु समेत जग्गा प्रकरणमा नैतिकरुपमा यति कमजोर महशुष गरिरहेका छन् कि, चूइक्क एक शव्द बोल्न सकिरहेका छैनन् । उता विपक्षी दलहरुले त ओलीले गुरुङबाट जग्गा लिने र भवन निर्माण गर्ने विषयलाई लेनदेनसँग नै जोडेका छन भने एमाले–कांग्रेसभित्र समेत यसको ठूलो प्रभाव परेको छ । यसरी संकट झेलिरहेका ओली भने सरकारको स्थायित्वबारे निरन्तर प्रष्टीकरण दिदै हिडिरहेका छन्  

ओलीले निरन्तर जस्तो प्रतिक्रिया दिएपनि कांग्रेसले पनि सरकारमा असन्तुष्टी रहेको विषय भने सार्वजनिक गरिसकेको छैन । तर, कांग्रेसलई ओलीको व्यवहारका कारण अप्ठ्यारो भने पर्दै गएको छ । ओली प्रतिनिधिसभामा आफ्नो दललाई ठूलो दल बनाउन राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने कसरतमा छन भने कांग्रेसले अध्यादेश ल्याउने विषयमा सहमति जुटाउन नसकिने जवाफ प्रष्ट दिएको बताइन्छ । सत्ता सञ्चालनमा ओलीले चाल्ने कदम र उनले गर्ने व्यवहारले कांग्रेसमा केहि समस्या भने पक्कै देखिन्छ । जुन विषयमा कांग्रेसको शीर्ष तहले केहि विषयमा छलफल गरेर ओलीलाई कार्यशैलीगत कुरामा ध्यान दिन आग्रह गर्ने गरि आन्तरिक बहस समेत गरेको बताइन्छ । 

यसमा बाढी पहिरोको कहरमा मुलुक परेपछि ओलीले तत्कालीन कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई बैठक राखेर बोल्ड निर्णय गर्न रोकेको कांग्रेस वृत्तमा छलफल हुने गरेको छ भने दल विभाजनसम्बन्धि अध्यादेश ल्याएर ओलीले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा आफ्नो सरकार ढलेपनि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने बाटो खोजिरहेको बताइन्छ । यो विषय आफ्नो कार्यकालको अन्तिममा लागू गर्ने गरि ओलीले आन्तरिक तयारी थालेको राजनीतिक विश्लेषण भइरहेको छ । जुन कांग्रेस र देउवाका लागि हानिकारक निर्णय बन्नेमा शंका छैन । 

ओलीले अन्तिम समयसम्म पनि आफूलाई केन्द्रमा राखेर काम गर्न सक्ने विषयमा कांग्रेसले मिहिन ढंगले हेरिरहेको छ भने कांग्रेसले चाहेमा हुने सत्ता परिवर्तनमा एमाले ठूलो दल बनेपछि निर्णायक शक्तिको रुपमा ओलीले नयाँ कदम चाल्दा देउवाको अन्तिम पटक प्रधानमन्त्री बन्ने चाहनामा अनेक तरिकाले ब्रेक लाग्न सक्ने खतरा छ । यहि कारण पनि राजनीतिक उथलपुथलको संकेतहरु देखा पर्न थालेका छन् । 

यही बुझेर नै ओली आफै सरकारको भविष्यको बारेमा रक्षात्मक अभिव्यक्ति दिन थालेका हुन् । अर्को नेपालमा भूराजनीतिक चलखेल तीब्र बनिरहेको हुनाले पनि सत्ता उलटफेरको सम्भावना तीब्र छ । ओलीलाई भारतले अहिलेसम्म पनि भ्रमणको औपचारिक निमन्त्रणा दिएको छैन भने ओलीले सम्बन्ध सुधारका लागि गरेका प्रयासहरु पनि निरर्थक बनिरहेको छ । यस्ता थुप्रै कारण सत्ता उलटफेर हुन सक्ने स्थिति बन्दै गएको विश्लेषण हुन थालेको छ । यद्यपी कांग्रेसले नचाहँदासम्म सत्ता फेरिने सम्भावना तत्काललाई भने देखिन्न । 


 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update