News 24 Television
रवि लामिछाने कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा

शुक्रवार साँझ काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पोखरा पु¥याएको छ । प्रहरीले लामिछानेका समर्थकहरूको नाराबाजी र विरोध प्रदर्शनका बीच लामिछानेकै चाहना बमोजिम सडकमार्ग भएर रातारात पोखरा पु¥याएको हो । लामिछानेलाई प्रहरीले लैजाँदै गर्दा ठाउँ–ठाउँमा उनका समर्थक र रास्वपाका नेता कार्यकर्ताहरूले नाराबाजी र विरोध प्रदर्शन गरेका थिए । 

राति करिब ३ बजे लामिछानेलाई पोखरा पु¥याएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । लामिछानेलाई प्रहरीले हिरासतमा लिएपछि समेत रास्वपाका कार्यकर्ताहरूले नाराबाजी गरेका छन् । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर प्रहरीले पोखरा लगेको हो । 

उनी काठमाडौँमा पक्राउ पर्ने बित्तिकै रास्वपाले काठमाडौँसहित सडकमार्ग रहेको क्षेत्र र पोखरामा समेत आफ्ना कार्यकर्ताहरूलाई सडकमा उत्रिन आन्तरिक सर्कुलर गरेको थियो । शनिबार राति नै लामिछानेको पक्षमा नाराबाजी गर्दै सयौँको संख्यामा नेता कार्यकर्ताहरू पोखरा पुगिसकेका छन् । रास्वपा समर्थक तथा कार्यकर्ताले आज शनिवार पनि प्रदर्शनका विभिन्न कार्यक्रमहरु गर्ने तयारी गरेका छन् । 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update