News 24 Television
सहकारी ठगी आरोपमा रवि पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारी ठगी अनुसन्धानमा जिल्ला अदालत कास्कीले पूर्वगृहमन्त्री लामिछानेलाई पक्राउ अनुमति दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । सरकारले रविलाई पक्राउ गरेपछि रविले प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोश व्यक्त गर्दै भ्रष्टाचारी जोगाउन लागेको आफूलाई बलि चढाउन खोजेको आरोप लगाउदै आक्रोश पोखेका छन् । सहकारी वचत रकम अपचलनबारे छानविन गर्न बनेको संसदीय समितिले तयार पारेको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गोरखा मिडियामा सहकारीबाट प्रवाह भएको रकम खर्च गर्ने मामलामा दोषी किटान गर्दै कारबाही सिफारिस गरिएको छ । 

समितिको प्रतिवेदनले रविलाई सहकारी ठगी गरेको प्रमाण पेश गर्न नसकेपनि सहकारी ठगीमा गितेन्द्रबाबु राई (जीबी)को संलग्नता र गोरखा मिडियामा भएको सहकार्यलाई लिएर धेरैले रविविरुद्ध सहकारी ठगीको आरोप लगाउने गर्छन् । यसरी लागिरहेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गर्दै रविलाई पक्राउ गर्ने अनुमति जिल्ला अदालत कास्कीबाट लिएको हो । रविविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उले सामाजिक सञ्जालबाट समेत आक्रोश पोखेका छन् । फेसबुकमा लामो सन्देश लेख्दै रविले बिना गल्ती आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी समेत गरेका छन् । उनले प्रधानमन्त्री ओलीलाई अनेक प्रश्न गर्दै मीनबहादुर गुरुङबाट जग्गा लिएको विषय समेत उठाएका छन भने भ्रष्टाचारी समात्न प्रधानमन्त्रीको अफर लत्याएर अघि बढेको स्मरण समेत गरेका छन् । यस्तै, रविको पक्राउ हुनसक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर रास्वपाले सुभेच्छुक, समर्थक र पार्टीका नेता कार्यकर्तालाई अनुसन्धानमा सघाउनुपर्ने भन्दै कुनै किसिमको अवरोध नगर्न अपिल समेत गरेको छ ।

रविलाई प्रहरीले सडकमार्ग हुँदै पोखरा लगेको छ । भने आफ्नो गिरफ्तारीविरुद्ध रविले सार्वजनिक आक्रोश पोखेका छन् । सरकार मरेको र रास्वपालाई जुठो परेको भन्दै कडा शब्दमा आक्रोश पोखेका रविले अनुसन्धानलाई सघाउने र पीडितको पक्षमा उभिने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । 

रविलाई सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपा फेरि मूल नेतृत्वबिहीनताको अवस्थामा पुगेको छ । रवि सभापति र प्रतिनिधिसभाको सदस्यकै हैसियतमा पक्राउ परेपछि रास्वपाले त्यसको प्रतिवाद गर्ने भनेको छ । तर, अब यो विषय अदालत प्रवेश गरेकाले अदालतको फैसला नै अन्तिम हुने भएकाले अहिले नै यसै भन्न सकिने स्थिति भने छैन । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update