News 24 Television
रवि पक्राउ पर्न सक्ने भन्दै रास्वपा नेताहरुको गुनासो

पार्टी सभापति रवि लामिछानेलाई सरकारले जतिबेला पनि पक्राउ गर्न सक्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले विपक्षी दलहरूको बैठकमा गुनासो गरेका छन् । शुक्रबार बिहान बसेको विपक्षी दलहरूको बैठकमाक रास्वपाको नेताहरुले सरकारले लामिछानेलाई पक्राउ गर्न खोजिरहेको चर्चा गरे । बैठकमा रास्वपाका तर्फबाट ६ जना नेताहरु उपस्थित थिए । राजनीतिक पूर्वाग्रह राखेर पार्टी सभापतिलाई पक्राउ गर्न खोजिएको भन्दै गुनासो गरेका बैठकमा सहभागी नेताहरूले बताए । 

बिहीबार टीआरसीबारे छलफल गर्न बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरूको बैठक बसेको थियो । सो बैठकमा रवि लामिछानेबारे समेत छलफल भएको चर्चा भएको थियो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपा नेता विराजभक्त श्रेष्ठले निष्पक्ष अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार भए पनि पूर्वाग्रही व्यवहार स्वीकार्य नहुने बताए । उता शुक्रबारको बैठकमा लामिछानेलाई पक्राउ गरेमा प्रतिवाद गर्नेबारे छलफल समेत भएको छ । बैठक आह्वानकर्ता नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि लामिछाने पक्राउ हुन सक्ने संकेत गरेका थिए । 

सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको विशेष संसदीय समितिले पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई व्यक्तिगत रूपमा दोषी करार त गरेन तर, विभिन्न सहकारीबाट गोर्खा मिडियामा पैसा ल्याउने सन्दर्भमा उनको संलग्नता रहेको भन्दै आवश्यक अनुसन्धान गर्ने सुझाव दियो । त्यसो त उनको निकटतम् साझेदार छविलाल जोशी पक्राउ परिसकेका छन्, उनी अहिले हिरासतमै छन् । उनले प्रहरीकहाँ ‘‘गोर्खा मिडियामा पैसा ल्याउने मुख्य योजना नै रवि लामिछानेको हो’ भनेर बयान दिएको बताइन्छ । त्यसो त रविलाई पक्राउ गर्ने गाइँगुइँ हल्ला चलेको धेरै भयो । 

यसबाट रास्वपा स्वयम् झस्किँदै आएको छ । रविलाई गत असोज ६ गते नै पक्राउ गर्ने तयारी प्रहरीको थियो तर, अन्तिममा रवि पक्राउ परेनन् । पक्राउ पर्ने खबर पाएपछि रवि रास्वपा मुख्यालय, वनस्थली पुगिसकेका थिए । त्यहाँ उनले काठमाडौंमा उपलब्ध सम्पूर्ण नेता, कार्यकर्ता तथा समर्थक–शुभेच्छुकहरूलाई बोलाएका थिए । लगत्तै रास्वपा मुख्यालयमा सयौं मान्छे जम्मा भए । त्यहाँ समर्थक–शुभेच्छुकबाट रविको पक्षमा नाराबाजीसमेत भयो । यसपछि प्रहरी रित्तो हात फर्कियो । यो विषय दशैंमा सेलाएको थियो तर, दशैं सकिनासाथ उनी पक्राउ पर्ने हल्ला फेरि सुरु भएको छ । शुक्रबार पनि उस्तै हल्ला चल्यो । रवि भने बिहान पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको विपक्षी दलहरूको बैठकमा सहभागी थिए । रविलाई बानेश्वरको बैठकलगत्तै पक्राउ गर्ने भनिएको बताइन्छ ! 

तर, त्यसो भएन । प्रहरीको उच्च स्रोतका अनुसार उनलाई प्रचण्डकै आग्रहअनुरूप पक्राउ नगरिएको हो । जसै, रवि अहिले प्रचण्डका सारथि हुन् । प्रमुख प्रतिपक्षको भूमिकामा संसद्मा उपस्थित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चौथो ठूलो दल रास्वपाका सभापति सारथि नहुने कुरै भएन । यही कारण प्रचण्ड रविलाई पक्राउ ग¥याइहाल्ने मुडमा छैनन् । तर, रविविरुद्ध अहिलेसम्म पक्राउ पुर्जी भने जारी नभएको बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update