News 24 Television
रवि पक्राउको हल्ला कति सत्य ?

काठमाडौँ–प्रतिपक्ष दलहरुले केपी ओली नेत्तृत्वको सकार पूर्णतः असफल भएको निष्कर्ष निकालेका छन् । शुक्रवार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले सरकार असफल भएको ठहर गरेको हो । बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सरकार गठनको तीन महिनामा एउटा पनि उपलब्धिपूर्ण काम नभएको र सम्पूर्णरुपमा असफल देखिएको बताए । सरकार जनसरोकारका विषयहरु सम्बोधन गर्न केन्द्रीत नभइ निहित स्वार्थलाई प्राथमिकतामा राखेर अगाडी बढेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन लागिएको पनि बस्नेतले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्भावित गिरफ्तारीबारे पनि बैठकमा छलफल भएको छ । राजनीतिक पूर्वाग्राह राखेर लामिछानेलाई पक्राउ गरिए सबै एक ठाउँमा उभिएर सशक्त प्रतिवाद गर्ने बस्नेतले बताए ।  

त्यस्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सरकारले परराष्ट्र मन्त्रालयमा ११० जनाभन्दा बढी कर्मचारी थपेर राज्यलाई स्थायी रुपमा भार पार्न खोजेको आरोप लगाए । केश लागेको व्यक्तिसँग प्रधानमन्त्रीले आफ्नो पार्टी भवन बनाउन सहयोग लिएको भन्दै सो विषयमा सौदाबाजी पनि भएको हुनसक्ने आशंका व्यक्त गरे । रास्वपा सभापति रवि लामिछानेलाई दुराशय राखेर पक्राउ गरिए त्यसको प्रतिवादन गर्ने पनि पाण्डेले बताए ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले प्रधानमन्त्रीले विगतदेखि नै अध्यादेशमा काम गर्ने गरेको भन्दै फेरि पनि साना दलहरुलाई फुटाउने गरी अध्यादेश ल्याउनसक्ने शंका रहेको दाबी गरे । त्यस्तै आफ्नो पार्टी र सभापति सहकारी छानविनमा सघाउन तयार रहेको उनको भनाइ छ । तर राज्य विधिको विपरित नजाओस् भनेर मात्रै रास्वपाले प्रतिवाद गरेको श्रेष्ठको भनाइ छ । 

प्रतिपक्ष दलहरुको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा(एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टीको उपस्थिति रहेको थियो । विपक्षी दलहरुको बैठकले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेत, नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेको कार्यदल समेत गठन गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update