News 24 Television
अव्यवस्थित पार्किङले  सर्लाहीको मलंगवा अस्तव्यस्त

सर्लाही–सर्लाहीकै सबैभन्दा पुरानो र सदरमुकाम समेत रहेको मलंगवा नगरपालिका सडक अतिक्रमण तथा अव्यवस्थित पार्किङले दिनप्रति दिन कुरुप बन्दै गएको छ । नगरपालिकाको बेवास्ताका कारण सडक अतिक्रमण गरि बाटोमै सञ्चालन गरिएका पसल र अव्यवस्थित सवारी पार्किङका कारण नगरभित्र आवत–जावतमा निकै समस्या भएको छ । सर्लाहीको मलंगवा बजार क्षेत्रमा पर्ने जिविस चौकदेखि बसपार्क, बालमन्दिर चौक, नगरपालिका कार्यालय नजिक मेन चौक हुँदै भगवती मन्दिर, नेपाल बैक र मालपोत कार्यालयसम्मको सडक अतिक्रमण र अव्यवस्थिति पार्किङका कारण अस्तव्यस्त बनेको स्थानीयद्वय रहबर मिकरानी गुनासो गर्छन् ।  

सवारी साधनदेखि पशु चौपाया समेत सडकमै छोडिएका छन् भने मुख्य बजारका सडकहरु नै ढाक्नेगरी पसल समेत राखिएका छन् । व्यापारीहरुले सडक अतिक्रमण गर्दा बजारमा मोटरसाइकल समेत पार्किङ गर्नसमेत ठूलै समस्या हुन्छ । नगरवासीले भोगिरहेको यो समस्यामा नगरपालिका र ट्राफिक प्रहरी कार्यालय कसैलाई पनि मतलब नरहेको स्थानीय  आनन्द अग्रवालले आरोप लगाए । 

नगरपालिकाले नियमित रुपमा सडक अतिक्रमण बिरुद्ध कडाईका साथ प्रस्तुत नभएसम्म यो समस्या समाधान नहुने स्थानीय बताउँछन् । सडक अतिक्रमण र अव्यवस्थित पार्किङले आपतविपतको बेलामा एम्बुलेन्स लगायतको सेवामा समेत नकारात्मक प्रभाव परिरहेको नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा बताउँछन् । आफुहरुले विगत ५ वर्षदेखि यो समस्यालाई लिएर सरोकारवाला निकाय मलंगवा नगरपालिका र ट्राफिक प्रहरी कार्यालय मलंगवालाई घचघचाई रहेको भएपनि यसमा सुनुवाई नभएको अध्यक्ष झाको भनाई छ । 

तर यो समस्या समाधानका लागि नगरपालिकासँग समन्वय भईरहेको र चाँडै अतिक्रमित  सडक खाली गराउने योजना रहेको ट्राफिक प्रहरी कार्यालय मलंगवाका प्रमुख बरिष्ठ नायब निरीक्षक भानुभक्त नेपालको भनाइ छ । नगरपालिकाले भने चाँडै बसपार्क नयाँ ठाउमा स्थानान्तरण गर्ने जानकारी दिदै त्यसपछि ट्राफिक व्यवस्थापन लगायतको समस्या स्वतः सहज हु्ँदै जाने र सडक अतिक्रमण गरि बनाइएका पसलहरु पनि कडाईका साथ खाली गराइने जनाएको छ । सडक मिचेर राखिएका पसलहरु हटाउन चाँडै माइकिङ गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृकत होमनाथ सुवेदीले जानकारी दिए । 
 
नगरपालिकाले चाँडै समाधान गर्ने बताएपनि पाँच वर्षदेखि यत्तिकै थाँती रहेको यो समस्या सहजै समाधान हुनेमा स्थानीय विश्वस्त छैनन् । तर नियम कानून अनुसार अतिक्रमित सडक खाली गराउने अधिकार हुँदाहुँदै पनि नगरपालिकाले यत्रो समय नगरलाई किन अस्तव्यस्त बनायो भन्ने चाँही साच्चिकै उदेकलाग्दो छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update