News 24 Television
रुपा गाउँपालिकामा फुट्यो विकासको मुहान

कास्की । सडक संजालको प्रयाप्त विकास हुन नसक्दा ग्रामिण भेगमा नागरिकले उत्पादन गरेका बस्तुहरुको बजारीकरण नहुँदा गाउँमै कुहिने अवस्था छ । यसैलाइ मध्यनजर गदै कास्कीको रुपा गाउपालिकाले रिङरोडको अवधाराणा अनुसार काम सुरु गरेको छ । संघ र प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि पालिकामा रिङरोड स्तरोन्नती हुने भएको छ । कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपूरवेसी–पोल्याङको दोस्रो खण्डको काम अघि बढेको छ । 

रूपा १ र ७ मा पर्ने उक्त रिङ रोडको दोस्रो खण्डको १६.१२ किलोमिटर सडक निर्माण सुरु भएको हो । सडक ८ मिटर चौडा हुने छ । संघ र प्रदेश सरकारले आर्थिक भार व्यहोर्ने गरी समपूरक योजना अन्तर्गत ४७ करोड १८ लाख ९१ हजार रूपैयाँ लागतमा उक्त सडक निर्माण थालिएको छ । यो प्रदेशको ठुलो मध्येको एक योजना हो । यो मोटर बाटो निर्माणको ठेक्का एम÷एस जी.एन.सी.पी.एल–बी.बी.आर कन्स्ट्रक्सन जेभी, हेटौंडाले पाएको छ । गत साउन १७ मा निर्माण कम्पनीसँग सम्झौता भएकोमा निर्माण कार्य २०८३ साल माघ १६ सम्म सक्नुपर्ने छ । 

रिङरोडको पहिलो खण्डअन्तर्गत फैंचोकदेखि पोल्याङसम्म १० किलोमिटर र रूपा परियोजनाअन्तर्गत ९ किलोमिटर सडक बनिसकेको छ । पालिकामा ७ वटा वडामध्ये २ नम्बर वडावाहेक ६ वटा वडालाई समेट्ने गरी रिङरोडको ट्रयाक खुलिसकेको छ । यो सडक प्रिमिक्स प्रविधिमा कालोपत्रे गरिने छ । ६४ किलोमिटर रिङरोडमध्ये १९ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । यो वाहेक ३२ किलोमिटर सडक स्तरोन्नतीको लागि वाकीँ छ । स्थानीय कृषि उत्पाादन, पर्यटन प्रवद्र्धन र समग्र पालिकाको आर्थिक विकासमा सडक स्तरोन्नती पछि टेवा पुग्ने रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए । 

कास्कीको पूर्वीभागमा रहेको रुपा गाउँपालिकासगै लमजुङ र तनहुँका जिल्लाका स्थानीयले समेत प्रदेश राजधानी पोखरासम्मको उक्त सडक मार्फत सहजरुपमा सेवा पाउने रुपा गाउँपालिका ७ का वडाध्यक्ष कृष्णराज सुवेदीको जिकिर छ । गाउँबाट बसाइसराइ गर्ने क्रम बढिरहेको बेला पालिकामा बन्ने रिङरोडका कारण गाउँमा विकासको फड्को मार्ने स्थानीय देवीरमण सुवेदीले बताए । 

रुपामा २०५१ सालमा जिल्ला विकास समितिले पहिलो पटक सडक ट्रयाक खोलेको थियो । ओझेलमा परेको पालिकामा संघीयता आएसगै विकासले गति लिएको छ । गाँउपालिकाको सबै वडालाई पक्की सडक सञ्जालले जोड्ने नीति लिएको छ । रुपाकोट–थुम्की, बेगनास–भोर्लेटार, बेगनास–पोल्याङटारसम्मको मुख्य सडक कालोपत्रेसगै पालिकाका मुख्य सडक पक्कि भएका छन् । रिङरोडको ३२ किलोमिटर सडक स्तरोन्नती पछि पालिकामा गुणस्तरीय सडक संजाल निर्माण हुने छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update