News 24 Television
डेंगी नियन्त्रणमा कसरी चुक्यो सरकार ?

काठमाडौं–विगत १५ वर्षदेखि नेपालमा डेंगीले तनाव दिइरहेको छ । सरकारले हरेक वर्ष लामखुट्टे खोज तथा नष्ट अभियानका लागि हरेक करोडौं रकम विनियोजन गर्छ । तर पनि डेंगी संक्रमण कम हुनुको साटो बर्सेनि बढ्दो छ । सरकारी तथ्यांक अनुसार असोज २२ गतेसम्म ७५ जिल्लामा फैलिएको डेंगी बुधवारसम्म ७६ जिल्लामा फैलिसकेको छ । यो बीचमा थप एक जनाको मृत्यु हुँदा डेंगीबाट असोजसम्म ९ जनाले ज्यान गुमाइसकेका छन् । अहिले पोस्ट मनसुन सुरु भएका कारण डेंगी ंसंक्रमणको जोखिम थप बढाएको छ । 

दशैं अगाडिदेखि गति लिँदै गइरहेको डेंगी संक्रमण अहिले झन बढेको देखिएको छ । एक साता अगाडिसम्म देशभर १७ हजार डेंगी संक्रमित थिए । तर दशै लगत्तै यो संख्या बढेर १९ हजार ५ सय ९९ पुगिसकेको छ । यसैगरी सक्रमणबाट मृत्यु हुनेको सख्या पनि बढेर असोजसम्म ९ पुगेको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार अहिले सबैभन्दा बढि संक्रमित संख्या काठमाडौंमा देखिएको छ । 

सरकारी तथ्यांक अनुसार डेंगी संक्रमणको हालको अवस्था 
1.    काठमाडौँमा तीन हजार एक सय दुई जना
2.    कास्कीमा दुई हजार आठ सय ४७ 
3.    तनहुँमा दुई हजार एक सय सात
4.    पर्वतमा एक हजार पाँच सय ६२
5.    चितवनमा नौ सय ७१
6.    ललितपुरमा आठ सय २७
7.    भक्तपुरमा तीन सय ५५ जना 

अहिले दैनिक अस्पताल पुग्ने दर्जनौँमा डेंगी पुष्टि हुने क्रम बढेको चिकित्सकको अनुभव छ । पछिल्लो समय डेंगी संक्रमण सामुदायिक स्तरमा नै बढेको सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनको भनाइ छ ।  

गत वर्षको पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेगीं सङ्क्रमण पुष्टि  थियो भने २० जनाको ज्यान समेत गएको थियो । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण पछिल्ला वर्षहरुमा चिसो स्थानमा तथा लामो समयसम्म रहने गरेको देखिन्छ । यो वर्षको अवस्थालाई नियाल्दा पनि डेंगी संक्रमण तत्काल रोकिने सम्भावना निकै न्यून मात्र भएको यसका जानकारहरुको बुझाई छ । अहिले पोस्ट मनसुन सुरु हुँदा डेगीं संक्रमणको थप बढ्ने सम्भावना उच्च भएका कारण तिहार सम्म सक्रमण फैलन सक्ने चिकित्सक बताउँछन् । त्यसैले डेंगी संक्रमणबाट जोगिन सुरक्षाका उपायहरु अपनाउँन आवश्यक भएको समेत चिकित्सकहरुले सुझाएका छन् । 

डेंगी नियन्त्रणमा किन चुक्यो सरकार ? 
डेंगी नियन्त्रणमा ठूलो बजेट निकासा भएपछि सरकारकै कारण हरेक वर्ष संक्रमण नियन्त्रण् बाहिर गइरहेको छ । डेंगी नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले सबैभन्दा धेरै पहल गर्नुपथ्र्यो । तर वर्ष दिनमा ३ पटक सम्म फेरिने स्वास्थ्य मन्त्रीका कारण पनि मन्त्रालयल डेंगी नियन्त्रणका लागि उचित पहल लिनबाट चुकिरहेको छ । मन्त्रालयले लामखुट्टे खोज र मार भन्न बाहेक डेगी रोकथामका लागि कुनै उपाय अपनाउन सकिरहेको छैन । मन्त्री बन्ने बित्तिकै ठूलाठूला कुरा गर्ने स्वास्थ्यमन्त्रीहरु समेत डेंगी कसरी रोकथाम गर्ने भन्नेमा आफै अलमलमा छन् । डेंगी नियन्त्रणका लागि सरकारले पर्याप्त खोप समेत ल्याउन सकेन भने संक्रमण रोकथामका लागि मन्त्रालयसँग दक्ष जनशक्ति पनि छैनन् । डेढ दशकदेखि भोगिरहेको समस्या समाधानका लागि सरकारले आवश्यक पहल नथाल्नुले नै यो संक्रमण रोकथामका लागि सरकार जिम्मेवार छैन भन्ने प्रष्ट हुन्छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update