News 24 Television
मिथिलामा कोजाग्रत पूर्णिमाको रौनक

मिथिलाञ्चलमा आज कोजाग्रत पूर्णिमा भव्य रुपमा मनाइँदैछ । कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्षपनि महोत्तरीको रतौलीबाट १ सय १ पाहुर जानकी मन्दिरमा ल्याइएको छ । 

महोत्तरीको रतौलीका स्व. महेन्द्रप्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको पाहुरबाटै भगवान सीतारामको चुमाओन गर्ने परम्परा रहेको छ । पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान राम र माता जानकीको कपड़ा ल्याइएको छ । रतौलीबाट जानकी मन्दिरमा पाहुर ल्याउने परम्परा १ सय ४१ वर्षदेखि चल्दै आइरहेको स्थानीय नविन ठाकुरले बताए । 
 
कोजाग्रत पूर्णिमालाई भव्य बनाउनका लागि जानकी मन्दिरमा भजन कीर्तनको आयोजना गरिएको छ । प्रत्येक वर्ष उत्सवको बेला हास्य परिहासको कार्यक्रमको आयोजना समेत हुने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए ।   

यसअघि गतराति मिथिलाञ्चलको घर–घरमा कोजाग्रत पर्व मनाइएको थियो । मिथिलाञ्चलको घरघरमा तथा जानकी मन्दिरमा एकै दिन कोजाग्रत पर्व मनाउने परम्परा रहेपनि यस वर्ष उदयकालमा आज पूर्णिमा परेकाले जानकी मन्दिरमा कोजाग्रत पर्व आज मनाइएको हो । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update